
काठमाडौं, २५ वैशाख — फ्रान्समा आइतवार सम्पन्न राष्ट्रपति निर्वाचनमा मध्यमार्गी उम्मेदवार इम्मानुएल म्याक्रोंले स्पष्ट विजय हासिल गरेका छन् । उनले प्रतिस्पर्धी दक्षिणपन्थी नेता मरिन ले पेनलाई हराएका हुन् ।

म्याक्रोंले ६६.०६ प्रतिशत मत ल्याएर विजयी भएका हुन् । उनन्चालीस वर्षका म्याक्रों फ्रान्सका अहिलेसम्मकै कान्छा राष्ट्रपति हुन् ।
उनी आधुनिक फ्रान्सेली गणतन्त्रको स्थापना भएयता दुई प्रमुख परम्परागत दलभन्दा फरक पार्टीबाट पहिलो राष्ट्रपति बन्ने व्यक्ति बनेका छन् । जम्मा एक वर्षअघि 'एन मार्चे' पार्टी खोलेर देशको सर्वोच्च पदमा पुग्नु म्याक्रोंको सफलता हो ।
फ्रान्सेली इतिहासमा नयाँ अध्यायको शुरुवात भएको उनले बताए ।
उनले फ्रान्सेली जनताको आक्रोश र चिन्ता तथा संशयलाई सुनेको अनि आफ्नो पाँच वर्षे कार्यकालमा फ्रान्सलाई तल पार्न खोज्ने विभाजनका शक्तिहरूसँग लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
म्याक्रोंका समर्थकहरूले मध्य पेरिसको लुभ्र संग्रहालयमा भेला भएर विजयोत्सव मनाएका थिए ।
उनकी प्रतिस्पर्धी ले पेनले हार स्वीकार गर्दै आफ्नो अभियानलाई पूर्णतः परिवर्तन गर्ने बताइन् ।
म्याक्रोंले जीत हासिल गरेपनि उनको अगाडिको यात्रा कठिन हुने देखिन्छ किनकि एक महिनापछि हुने संसदीय चुनावमा उनले राम्रो प्रदर्शन गरेनन् भने सरकार चलाउन गाह्रो हुन्छ ।
बीबीसीबाट