
अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर–१२ मा शुक्रबार दिउँसो ठूलो पहिरो गएको छ ।
पहिरोले नगरपालिकाको वडा नं १२ जोखलीगैरा र पहरेपानीका १२ वटा घर बगाएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
उनले भने, ‘पहिरोले १२ वटा घर बगाएको छ । १० भन्दा बढी घर पूर्ण जोखिममा परेका छन् । हिजोअस्ति परेको पानीले पहिरो गएको हो । मानवीय क्षति भने भएको छैन । घरभित्र रहेका सामान भने जोगाउन पाएनन् ।’
घरहरूलाई पहिरोले माथिबाट बगाउँदै तल पुर्याएको छ ।
घर बगाएर विस्थापित भएकाहरूलाई स्थानीय गौरा माध्यमिक विद्यालयमा सुरक्षित हिसाबले सारिएको छ । पहिरो दिउँसोमा जाँदा मानिसहरू सुरक्षित रहन पाएको अधिकारीले बताए ।
पहिरो गएको स्थानमा उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेनासहितको टोली परिचालन भएको छ ।
अहिले अर्घाखाँचीमा पानी परिरहेको छ ।