०२ असार २०८३, मंगलबार

एक सातायता ८९ प्रतिशत संक्रमणमुक्त, निको हुने क्रम बढ्दो

असोज १०, २०७७
एक सातायता ८९ प्रतिशत संक्रमणमुक्त, निको हुने क्रम बढ्दो

कोरोना संक्रमितहरू निको भएर घर फर्कने क्रम बढ्दै गएको छ ।

पछिल्लो एक साताको तथ्यांकलाई आधार मान्दा एक सय जना संक्रमितमध्ये ८९ जना निको भएर घर फर्किएका छन् ।

गत ३ असोजदेखि शुक्रबारसम्म ९ हजार २१ जना संक्रमित थपिएकामा ८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यसरी हेर्दा प्रत्येक एक सय जना संक्रमितमा ८९ जना संक्रमणमुक्त भएको पुष्टि हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएकामा १ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, हालसम्म कुल संक्रमितलाई आधार मान्दा १ सय जनामा ७३ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किने गरेका छन् । हालसम्म ७० हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत् ५१ हजार ८ सय ६६ जना निको भएर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ जना रहेको छ ।

देशभर शुक्रबार १ हजार ३ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्रै १२ हजार २ सय ६२ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९ सय ७४ पुगेको छ । यस्तै, शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ ।

मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको छ । नेपालमा मृत्युदर शून्य दशमलव ६५ प्रतिशत छ ।

यस्तै, देशभर २ सय ६६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३९ जना भेन्टिलेटरमा र २ सय २७ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ सय ३५ जना आईसीयू र ३४ जना भेन्टिलेटर, प्रदेश ५ मा ३९ जना आईसीयू र दुई जना भेन्टिलेटरमा, प्रदेश १ मा ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यस्तै प्रदेश २ मा १९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १७ जना आईसीयूमा उपचाररत रहेका छन् । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्