
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार बिहान १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
उनलाई असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताए ।
उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला मंगलवार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै प्रतिष्ठानमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
सोमवार पनि धरान–२ की ३८ वर्षीया महिलाको प्रतिष्ठानमा कोरोनाले मृत्यु भएको थियो ।