
मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार पनि छलफल भइरहेको छ ।
ओलीसँगको छलफलका लागि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
मन्त्रिमण्डल पुनर्गठनको विषयमा सोमवार, आइतवार, शुक्रवार र बिहीवार पनि छलफल भएको थियो ।
कति जना मन्त्री फेर्ने भन्नेमा अध्यक्षद्वयबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको नेकपा स्रोतले बतायो ।
आइतवारको छलफलमा एकदुई दिनमै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति नजिक पुगे पनि सोमवारको छलफलमा सहमति जुट्न सकेको थिएन ।
प्रचण्डले पूर्व माओवादी कोटामा मन्त्री बनाएका सबैलाई फेर्ने अडान राखेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली भने केही मन्त्रीलाई निरन्तरता दिनुपर्ने अडानमा छन् ।
गत भदौ २६ गतेसम्म बसेको स्थायी कमिटी बैठक र त्यसपछि बसेको सचिवालय बैठकले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो ।
मंगलवारको छलफल सकारात्मक नभए मन्त्रिपरिषद् पुनर्गठनमा केही ढिला हुने सम्भावना पनि छ ।