
नेपाली सेनाले छोटो समयमा गर्ने ‘शीघ्र प्रभाव आयोजना’ क्यूआईपीअन्तर्गतका ४ वटा आयोजना सम्पन्न गरेर हस्तान्तरण गरेको छ ।
असोज १० गते मोरङको धनपालथान गाउँपालिकाको दानावारी चोकमा ठ्रशको घर र शौचालयसहितको हाटबजार, ११ गते रसुवाको गोसाइँकुण्ड पद मार्गअन्तर्गत रेलिङ, प्रतिक्षालय र सेड घर, जुम्लाको कर्णाली मा.वि. तथ बहिरा मा. विमा विद्यालय भवन, खेलमैदान र शौचालय र गोरखाको नेपाल राष्ट्रिय भू.पू सैनिक आवासीय विद्यालयको भवन निमार्ण गरेर हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ ।

स्थानीय स्तरमा जनताको आवश्यकतालाई पहिचान गरी छोटो समयमा योजना तथा थोरै बजेटमा स्थानीय जनता लाभान्वित हुने गरी नेपाली सेनाले विभिन्न यूनिट परिचालन गरी निर्माण गरेको हो ।
सेनाले आफूलाई प्राप्त बजेटभित्र रहेर स्थानीय बासिन्दाहरूसँगको समन्वयमा आवश्यकतालाई पहिचान गरी यस्ता परियोजनाहरू कार्यान्वयन गर्दै आएको छ ।

न्यून आकारको बजेटबाट अल्पकालीन समयमा नै कार्य सम्पन्न गर्ने हेतुले बनाइएका यस्ता आयोजनाहरूबाट दूरदराजमा रहेका स्थानीयहरू लाभान्वित हुने अपेक्षा सेनाले राखेको जनाएको छ ।
सेनाको नागरिक-सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आ.व.०७६/७७ मा स्वीकृत भएको सामाजिक आर्थिक पूर्वाधार विकासका कार्यक्रम, शीघ्र प्रभाव आयोजनाअन्तर्गत नेपाली सेनाका विभिन्न युनिटहरूबाट निर्माण सम्पन्न गरी यस हप्तामात्रै हस्तान्तरण गरेको हो ।
