
नेपाललाई २ करोड ५० लाख कोरोनाविरुद्ध खोप (स्पुत्निक भी)को डोज दिन रुसको स्वतन्त्र सम्पत्ति कोषल तयार भएको छ । ट्रिनिटी फर्मास्युटिकल्समार्फत नेपाललाई सो संख्यामा कोरोनाविरुद्ध खोपको डोज दिने रुसी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
ट्रिनिटी फर्मास्युटिकल्स निजी स्वास्थ्य सेवा फर्म र रुसको औषधिको महत्त्वपूर्ण वितरक हो ।
रुसको प्रत्यक्ष लगानी कोषले विश्वभर कोरोनाविरुद्धको खोप वितरण गर्ने जिम्मा पाएको छ । नेपाललाई मात्र होइन भारतलाई पनि १० करोड डोज दिने रुसको तयारी छ ।
संसारभर कोरोनाविरुद्धको खोप आउने चर्चा भइरहेका बेला गत ११ अगस्तमा रुसमा स्पुत्निक भी नामको खोप दर्ता गरिएको थियो । उक्त खोप राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीलेसमेत लगाएकी थिइन् ।
स्पुत्निक भीको तेस्रो चरणको क्लिनिकल ट्रायल भने रुसमा चलिरहेको छ । यद्यपि रुसले अन्य देशका नागरिकहरूलाई पनि आफ्नो खोपको ट्रायलमा सहभागी गराउन चाहेको छ ।
नेपाललाई उपलब्ध गराउने भनिएको २ करोड ५० लाख डोज नेपालमा कहिले आउँछ भन्नेबारे भने स्पष्ट भइसकेको छैन ।
'रुसको खोप आउनेबारे हामीलाई अहिलेसम्म केही जानकारी छैन,' ‘स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरलाई भने, 'उच्च तहमा केही सम्झौता भएको भए त्यो हामीसम्म आइपुगेको छैन ।'