१२ असार २०८३, शुक्रबार

उत्तरतिर २ नाका खोल्न चीन सकारात्मक, यस्ता छन् पालन गर्नुपर्ने शर्त

असोज १४, २०७७
उत्तरतिर २ नाका खोल्न चीन सकारात्मक, यस्ता छन् पालन गर्नुपर्ने शर्त
फाइल फोटो

उत्तरतिरका तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ ।

हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो ।

मंगलवार बसेको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो अनलाइन बैठकमा कोरोना भाइरस (कोभिड–१९) को परिस्थितिमा सुरक्षात्मक रूपमा नाका सञ्चालन गर्न छलफल भएको थियो । छलफलमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल र चीनका तर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयका एसिया मामिला विभागका महानिर्देशक पेङ गाङले नेतृत्व गरेका थिए । चीनको केन्द्रीय तहमै भएको यो पहिलो छलफल पनि हो ।

छलफलमा नाका सञ्चालनको विषयमा चीनले सुरक्षालाई मुख्य चासोको विषय बनाएको सहसचिव दाहालले जानकारी दिए । ‘नाकामै पीसीआर ल्याब राख्नुपर्ने, निरन्तर डिस्इन्फेक्ट गर्नुपर्ने, कामदारलाई क्वारेन्टीनमा राख्नुपर्ने, नियमित सुरक्षाजाँच गर्नुपर्ने जस्ता विषयमा चिनियाँ पक्षको चासो थियो,’ उनले भने । नेपालले यी सबै विषय पालना गर्ने तर निःशर्त नाका खोल्नुपर्ने प्रस्ताव राखेको उनले बताए ।

नेपालको प्रस्तावमा चीनले तत्काल सीमित मात्रामा खोल्ने र नेपालको तयारी हेरेर आश्वस्त भएपछि सामान्य रूपमै नाका सञ्चालन गर्ने जनाएको उनले जानकारी दिए । दुवै पक्षबीच अन्य नाका पनि पूर्वाधार निर्माण गरेर सञ्चालन गर्ने विषयमा समझदारी बनेको छ ।

कृषिजन्य सामग्रीको क्वारेन्टीन परीक्षण तथा मासुसमेत निर्यातका लागि एकीकृत प्लान्ट र ‘मल्टिफङ्स्नल ल्याब’ सञ्चालन गर्ने विषयमा समेत २ पक्षबीच छलफल भएको थियो । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमार्फत नेपालले आफ्नो धारणा दिने र त्यसमा चिनियाँ पक्षले निर्माणमा सहयोग गर्नुपर्ने प्रस्ताव नेपालले राखेको थियो ।

‘ड्युटी फ्री’ अन्तर्गत नेपालले चीन निर्यात गर्न सक्ने ८ हजार ३० वटा सूचीमध्ये २४७ वस्तु मात्र निर्यात भएको अवस्थामा चीन तर्फको आयात सूचीमा नसमेटिएका कृषिजन्य, हर्बल र मासुलाई समेट्न चीन सकारात्मक भएको छ । यसरी चीनले आयात सूचीमा नसमेट्दा नेपालमा उत्पादित वस्तु तेस्रो देश हुँदै चीन निर्यात भइरहेको छ । नेपालले त्यस्ता १८८ वटा वस्तु आयात सूचीमा समेट्न र नेपालबाटै सिधै चीन निर्यात गर्न पाउन गरेको प्रस्तावमा चीनले तत्काल यो विषय सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

वार्तामा लगानीको विषयमा पनि २ पक्षबीच छलफल भएको थियो । चीनले खासगरी नेपालमा कर प्रक्रिया, पूर्वाधार अभाव र प्रशासनिक झमेलाजस्ता विषय लगानीको सन्दर्भमा उठाएको थियो । नेपालले पछिल्लो समय यस्ता विषयमा निकै सुधार गरेको जानकारी गराएको र त्यसकै कारण चीनको लगानी बढेको उल्लेख गरेको सहसचिव दाहालले बताए ।

‘त्यस्तो परिवेश अहिले फेरिएको छ । लगानी सहजीकरणका लागि एकद्वार नीति लागू गर्नेदेखि कानुन संशोधन गरेको जानकारी हामीले गरायौंं,’ उनले भने । नेपालको प्रतिक्रियापछि चिनियाँ पक्षले नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने उल्लेख गरेको थियो । अन्तरदेशीय आर्थिक क्षेत्र स्थापनाका लागि यसअघि भएको अध्ययनअनुसार छनोट भएका पाँचखाल, नुवाकोट र स्याफ्रुबेसीमध्ये कुनै एकको टुंगो लगाउन नेपालले चिनियाँ पक्षलाई आग्रह गरेको थियो । यस विषयमा छिटै निर्णय गरेर नेपाललाई बुझाउने चिनियाँ पक्षले प्रतिबद्धता व्यक्त गरेको थियो ।

पारवहन प्रोटोकलमा पनि सकारात्मक

नेपाल र चीनबीच व्यापार तथा ढुवानी सहज गर्न भएको पारवहन प्रोटोकल कार्यान्वयनमा ल्याउन चीन सकारात्मक देखिएको छ । बैठकमा नेपालले पारवहन प्रोटोकल जारी भए पनि त्यसअनुसार कार्यान्वयन हुन नसकेकाले चीनका तर्फबाट परीक्षणका रूपमा भए पनि ४ वटा बन्दरगाहसम्मको पहुँच सहज बनाइदिन प्रस्ताव राखेको थियो ।

चीनले नेपाललाई उपलब्ध गराउने भनेका ४ बन्दरगाहमा पनि नेपाल तर्फबाट दुईवटा नाकाबाट मात्रै जान सकिने भएकाले पहुँच सहज बनाएर प्रोटोकल कार्यान्वयनमा जानुपर्ने नेपालको भनाइ थियो । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्