
झापाको भद्रपुर नगरपालिका–९ मा जंगली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मशिनको प्रयोग गरिएको छ ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका वासिन्दालाई जंगली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जंगलको वरिपरि ६ किलोमिटरसम्म विद्युतीय तारले घेराबेरा गरेर झट्का मशिन प्रयोग गरेको हो ।
भारतको गुजरातबाट खरिद गरेर ल्याइएको झट्का मशिनले मुख्य प्रसारण लाइनबाट प्राप्त हुने विद्युत्को ‘एसी’ प्रवाहलाई ‘डीसी’मा परिवर्तन गरिदिन्छ । त्यही ‘डीसी’ विद्युत् तारको घेराबेरामार्फत प्रवाह गरी हात्तीलाई गाउँतिर पस्न रोक्ने गरिएको छ ।
सामुदायिक वनका अध्यक्ष हिरा पोखरेलका अनुसार हात्ती रोक्न यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र र लहानमा झट्का मशिनको प्रयोग गरिँदै आएको छ । कुनै–कुनै बेला घेराबेराको खम्बा कुल्चिएर र नाघेर हात्ती गाउँ पस्नेबाहेक जंगली हात्तीको दिनहुँ भोग्नुपर्ने आतंकबाट स्थानीयले अब मुक्ति पाएका छन् । झट्का प्रविधि प्रयोगका लागि सामुदायिक वनलाई प्रदेश नम्बर १ सरकारले १४ लाख रुपैयाँ र संघीय सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटबाट २० लाख रुपैयाँ प्राप्त भएको अध्यक्ष पोखरेलले बताए ।
झट्का मशिनले ५ भोल्टभन्दा कम शक्तिको ‘डीसी’ विद्युत् प्रवाह गरिदिने भएको हुँदा यसले हात्ती, मानिस र अन्य जनावरलाई तर्साउने गरी झट्का मात्र दिने गर्छ । यसको करेन्ट लागेर मानिस र हात्तीको मृत्यु हुँदैन । हाल हात्ती नियन्त्रण गर्ने झट्का परियोजनाको आधा काम मात्र सम्पन्न भएको छ । बाँकी काम धमाधम भइरहेको छ । असोजभित्र शतप्रतिशत काम सक्ने लक्ष्य रहेको वन समितिका अध्यक्ष पोखरेलले बताए ।
झापाको स्थानीय जंगलमा १० देखि १३ वटासम्म रैथाने जंगली हात्ती बाह्रै महिना बस्दै आएका छन् । जंगलबाट बाहिर निस्किएर ती हात्तीले मानिसलाई आक्रमण गर्ने, लगाइएको अन्नबाली खाइदिने र जनमानसमा त्रास सिर्जना गर्ने उपद्रो गर्दै आएका छन् ।