३१ असार २०८३, बुधबार

संसद्को विशेष अधिवेशन बोलाउने तयारीमा कांग्रेस : शुरूमा ओलीलाई ज्ञापन, नमाने कानूनी बाटो !

संसद्को विशेष अधिवेशन बोलाउने तयारीमा कांग्रेस : शुरूमा ओलीलाई ज्ञापन, नमाने कानूनी बाटो !
फाइल फोटो

सरकार स्वेच्छाचारी भएको निष्कर्षसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने भएको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधवार बसेको कांग्रेस पदाधिकारी र केही प्रभावशाली नेताको बैठकले संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो । 

शुरूमा संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र नबोलाएमा बोलाउन बाध्य पार्नेगरी संसद्मा समावेदन गर्ने निर्णय भएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकान्तरलाई जानकारी दिए । 

‘कोरोना संकट, भ्रष्टाचार र कोरोनाका कारण परेको आर्थिक सामाजिक असरबारे छलफल गर्न संसद्को विशेष अधिवेशन बोलाउने निष्कर्षमा पुगेका छौं,’ महतले लोकान्तरसँग भने । 

असोज १९ गते बस्ने केन्द्रीय समिति बैठकले यसबारे औपचारिक निर्णय लिने उनले बताए ।

प्रतिनिधि सभाका एक चौथाइ सदस्यले लिखित हस्ताक्षरसहित अधिवेशन माग गरेमा संसद्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ । तर कांग्रेस एक्लैसँग संसद्मा एक चौथाइ सदस्य छैनन् । यसका लागि उसले प्रतिपक्षमा रहेको जसपासँग सहयोग लिनु पर्ने हुन्छ । 

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला सरकारले गएको असार १८ गते संसद्को बजेट अधिवेशन अन्त्य गरेको थियो ।

संसद् बैठकको मिति समेत तोकिएको अवस्थामा अधिवेशन अन्त्य भएको थियो ।

साथै सामाजिक दूरी कायम गर्दै देशैभर आन्दोलन गर्ने निर्णय पनि भएको महतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्