
पूर्वमन्त्री शेख इद्रिसको राजपुर नगरपालिका–४ फरहदवास्थित गोठमा भएको बम विस्फोटमा घाइते भएकालाई इँटाभट्टाको चिम्नीमा हालेर जलाएको आरोप लागेका इँटाभट्टाका हेड मिस्त्री पक्राउ परेका छन् । घटनाको १३ वर्षपछि भट्टाका कर्मचारी ५५ वर्षीय बद्री सहनीलाई रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलस्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रदेश प्रहरीको टोलीले पक्राउ गरेको हो ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रसाद सिंहका अनुसार सहनीलाई आइतबार अदालत लैजाने तयारी छ । बम काण्डमा संलग्नताको आरोप लागेका अन्य ७ जना अझै फरार छन् । ‘फरार अन्यको पनि खोजी भइरहेको छ,’ उनले भने । सहनीले तत्कालीन सांसद मोहम्मद आफताब आलमको निर्देशनमा मृत्यु भएका २/३ जना र घाइते केहीलाई ट्र्याक्टरमा ल्याएर चिम्नीको भुङ्ग्रोमा हालेको बयान प्रहरीलाई दिएका छन् । उनी लामो समयदेखि भट्टामा मुख्य प्राविधिक थिए ।
यसअघि घटनामा संलग्न रहेको आरोपमा शेख सेराज र मुक्ति साह पक्राउ परिसकेका छन् । सेराज पुर्पक्षका लागि जेलमा छन् । साह ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । घटनाका मुख्य आरोपित आलमलाई भने २०७६ असोज ११ मा पक्राउ गरिएको थियो ।
घटनाको १२ वर्षपछि पक्राउ परेका उनी पुर्पक्षका लागि नख्खु कारागारमा छन् । संविधानसभाको पहिलो निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ को राति राजपुर–४ (साविक राजपुर गाविस–४) स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते भएका यमुनामाई गाउँपालिका–४ (साविक सरुअठा–४) का त्रिलोकप्रसाद सिंह (पिन्टु) र ओसी अख्तरलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको आरोप पूर्वमन्त्री एवं कांग्रेस
नेता आलम र उनका भाइ महताब आलमलगायत ११ जना माथि छ ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा अदालतले आलमलाई तत्काल प्रमाणका आधारमा छाड्न नसक्ने जिकिर गर्दै पुर्पक्षको आदेश गरेको हो । उक्त मुद्दामा उनीलगायत ११ जनाविरुद्ध जन्मकैद सजायको मागसहितको अभियोगपत्र अदालतमा दर्ता भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गरेको ३९ पृष्ठ लामो अभियोगपत्रमा पीडित परिवारलाई उचित क्षतिपूर्तिको मागसमेत गरिएको थियो । कान्तिपुर दैनिकमा शिव पुरीले खबर लेखेका छन् ।