
पूर्व प्रधानमन्त्री नवाज शरीफले भारतसँग साठगाँठ गरेको आरोप पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार शाहबाज गिलले लगाएका छन् ।
गिलले भने, ‘नवाज पाकिस्तानविरोधी हुन् त म भन्दिनँ । तर उनी प्रधानमन्त्री रहँदा मोदीलाई काठमाडौंमा गोप्य भेटघाट गरेका थिए । उनले यसको जानकारी परराष्ट्र मन्त्रालयलाई समेत दिएनन् ।’
पाकिस्तानले नवाज शरीफलाई बेलायतमा गैरजमानती वारेन्ट जारी गराउन कोशिश गरेकोमा सफल हुन सकेको छैन । बेलायत सरकारले पाकिस्तानी अधिकारीहरूलाई आफ्नो आन्तरिक राजनीतिमा दखल नदिन भनेको छ ।
शरीफले लन्डनस्थित एक देशको दूतावासमा हालैको सदनमा बैठक गरेको गिलले बताएका थिए । उनले थपे, ‘पठानकोट आक्रमणपछि भारतका व्यापारी सज्जन जिंदल र नवाज शरीफले उस्तै बयान दिएका थिए । नवान र उनको परिवारको व्यापारिक सम्बन्ध भारतीयहरूसँग छ । त्यसबाट उनीहरूले फाइदा लिएका छन् ।’
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतसँग मिलेर नवाजले पाकिस्तानी फौजलाई कमजोर बनाउने कोशिश गरेको भनी बयान दिएका छन् ।
नवाजको उपचार गत नोभेम्बर महिनादेखि लन्डनमा चलिरहेको छ । लाहौर उच्च अदालतले उनलाई जम्मा चार हप्ताका लागि देशबाहिर जान अनुमति दिएको भए पनि उनी अहिलेसम्म पाकिस्तान फर्केका छैनन् ।
कोर्टले बारम्बार उनलाई समाह्वान पठाएको भए पनि उनी अदालतमा पेश भएनन् । त्यसपछि उनलाई फरार घोषणा गरियो ।
अदालतले पाकिस्तानको परराष्ट्र मन्त्रालयलाई लन्डनस्थित पाकिस्तान दूतावासमार्फत नवाज विरुद्ध वारेन्ट जारी गराउन आदेश दिएको छ ।