
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सवार गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका छन । काठमाडौँबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहमा कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडगबहादुर खत्रीले गाडीमाथि ढुंगा प्रहार भएको पुष्टि गरे । उनले भने, ‘उहाँ ६ बजे भैरहवा झर्नुभएको थियो । यहाँबाट ६ बजेर १८ मिनेटमा हिँड्नुभएको हो । बुटवल पुग्दा केही व्यक्तिहरुले उहाँको सवारी गाडीमा ढुंगा हानेको खवर छ ।’
ढुंगामुढा गर्दा स्कटिङ सहितको गाडीको सिसा फुटेको छ । ढुंगामुढा प्रहार भएलगत्तै प्रहरीले हवाइ फायर समेत गरेको प्रत्यक्षदर्शीले जनाए ।
प्रहरीले ढुंगामुढा गर्ने एक दर्जन कार्यकर्तालाई पक्राउ समेत गरेको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन् । कांग्रेस सहित सञ्जालले आज रुपन्देही बन्दको आह्वान समेत गरेको थियो ।