२६ असार २०८३, शुक्रबार

‘केही दिनमा वास्तविक परीक्षा’

असोज १९, २०७७
‘केही दिनमा वास्तविक परीक्षा’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्यमा केही सुधार भएको तर आगामी केही दिन ‘वास्तविक परीक्षाको घडी’ हुने बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएपछि ट्रम्पको स्वास्थ्यबारे मिश्रित सन्देशहरू आइरहँदा ट्वीटरमा उनले भिडियो पोस्ट गरेका छन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति ट्रम्पको स्वास्थ्य राम्रो भइरहेको र संक्रमण पुष्टि भएयता उल्लेख्य सुधार आएको छ । राष्ट्रपति ट्रम्पले दोस्रो रात पनि अस्पतालमा बिताएका छन् । ‘खतराबाट अझै बाहिर आइनसकेको अवस्था भए पनि हाम्रो टोली राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सावधानीपूर्वक आशावादी रहेको छ,’ डा. सिन कोन्लीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । डाक्टर कोन्लीका अनुसार राष्ट्रपति ट्रम्पलाई अहिले अतिरिक्त अक्सिजन नदिइएको र २४ घण्टायता उनलाई ज्वरो आएको छैन । कोन्लीले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाबारे सावधानीपूर्ण आशावादी रहेको र उनी अस्पतालबाट कहिले डिस्चार्ज हुनेछन् भन्नेबारे समयसीमा तोक्न नसकिने बताए ।

राष्ट्रपति ट्रम्पले चार मिनेट लामो भिडियो सार्वजनिक गर्दै वासिङ्टनस्थित द वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरका चिकित्सक तथा नर्सहरूलाई धन्यवादसमेत दिएका छन् । ‘म यहाँ आउँदा मेरो स्वास्थ्य त्यति राम्रो थिएन । अहिले मैले पहिलेभन्दा राम्रो महसुस गरिरहेको छु,’ उनले भनेका छन्, ‘मेरो विचारमा आगामी केही दिन वास्तविक परीक्षाका दिन हुन् । अब हेरौं के हुन्छ ।’ आफू चाँडै नै निर्वाचन प्रचारप्रसारमा फर्किन चाहेको ट्रम्पको भनाइ छ ।

अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावमा ट्रम्प र डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदै छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार ट्रम्प अझै केही दिन अस्पतालमै रहने अपेक्षा गरिएको छ ।

ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मिडोजले भने राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनको स्वास्थ्य सुधार हुने दिशातर्फ गएको भन्ने अझै स्पष्ट संकेत पाइनसकेको बताएका छन् । राष्ट्रपतीय चुनावको करिब महिना दिनअघि ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोनाको संक्रमण पुष्टि भएको थियो । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्