
प्रदेश ५ को स्थायी राजधानी दाङ कायम गर्ने प्रदेश सरकारको प्रस्तावमाथि प्रदेश सभामा छलफल शुरु हुनुअघि बुटवलमा बिहानैदेखि प्रदर्शन शुरु भएको छ । बुटवललाई प्रदेशको राजधानी कायम गर्न माग गर्दै विभिन्न समूहले प्रदेश सभाअगाडि प्रदर्शन शुरु गरेका हुन् ।
उनीहरुले अस्थायी राजधानी रहेको बुटवललाई नै स्थायी राजधानी बनाउन माग गर्दै नाराबाजी गरिरहेका छन् ।
प्रदेश सभाको बैठक दिउसो १२ बजे बस्दैछ । बैठकमा सरकारले ल्याएको नाम र राजधानीको प्रस्तावमाथि छलफल हुँदैछ । शुक्रवार प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले दाङको देउखुरीमा प्रदेशको राजधानी बनाउने प्रस्ताव पेश गरेका थिए ।
सो प्रस्तावलाई लिएर बुटवलमा विरोध भइरहेको छ । विरोधस्वरुप प्रदेश सभाले गठन गरेको विधान संशोधन मस्यौदा समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा गरेका छन् ।
सहमतिको प्रयासका लागि प्रदेश सभा सचिवालयमा अहिले सर्वदलीय बैठक शुरु भएको छ ।
