
कोरोना संक्रमण तीव्र भइरहेका बेला पनि बालबालिका हराउने क्रम रोकिएको छैन ।
राष्ट्रिय बालअधिकार परिषद्का अनुसार साउन र भदौमा ३ सय ३६ बालबालिका हराएका छन् । निषेधाज्ञा जारी रहेको साउनमा मात्रै १ सय ८२ जना बालबालिका हराएका थिए । तीमध्ये ७४ लाई फेला पारेर परिवारको सम्पर्कमा पुर्याए पनि अरू १ सय ८ जनाको पत्तो लाग्न सकेको छैन ।
भदौमा पनि देशभर १ सय २३ बालिकासहित १ सय ५४ जना बालबालिका हराए । जसमध्ये ४८ फेला परे पनि अरू भेटिएनन् । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार यी दुई महिनामा सबैभन्दा धेरै बालबालिका प्रदेश २ बाट हराएका छन् । साउनमा ५२ र भदौमा ४४ जना हराए । तीमध्ये साउनमा १६ र भदौमा १० जनामात्रै फेला परे । परिषद्ले सार्वजनिक गरेको विवरणमा साउनमा हराएकामध्ये कति बालिका छन् भन्ने विवरण नभए पनि भदौमा हराएका १ सय ५४ मध्ये ७८ प्रतिशतभन्दा धेरै अर्थात् १ सय २१ बालिका छन् ।
साउनमा गण्डकी प्रदेशबाट ३४ र भदौमा १९ बालबालिका हराएको देखिन्छ । त्यस्तै साउनमा प्रदेश १ बाट ७ र भदौमा ३५ बालबालिका हराएका छन् । वाग्मती प्रदेशबाट साउनमा २६ जना र भदौमा १३ बालबालिका हराए । साउनमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट २४/२४ गरेर ४८ जना हराएका छन् भने कर्णालीमा भदौमा १५ र सुदूरपश्चिममा २० जना हराए । कोरोना संक्रमण बढिरहँदा बालबालिकाहरू हिंसा र दुर्व्यवहारको जोखिममा पनि परिरहेका छन् । भदौमा जोखिम, हिंसा र दुर्व्यवहारमा परेका ६१ बालिकासहित १ सय १० बालबालिकालाई उद्धार गरिएको छ । साउनमा भने २७ बालबालिकाको मात्रै उद्धार भएको थियो । कान्तिपुर दैनिकमा जनकराज सापकोटाले खबर लेखेका छन् ।