
लुम्बिनी प्रदेशको स्थायी राजधानीका सम्बन्धमा लामो समयदेखि रहेको बहस र विवादपछि दाङ तोक्ने प्रस्ताव प्रदेश सभाबाट दुईतिहाइले पारित गरेसँगै किनारा लागेको छ ।
नेकपाभित्रकै दाउपेचले लामो समयसम्म अल्झिएको राजधानीको मुद्दा किनारा लागेर दाङको देउखुरी कायम भएसँगै अस्थायी राजधानी बुटवल क्षेत्रका नेताकार्यकर्ताले तीब्र असन्तुष्टि जनाएका छन् ।
पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी मुकाम बनाएको आर्थिक केन्द्र तथा पूर्वाधारमा सम्पन्न बुटवललाई राजधानी कायम गर्नमा केही पहल नगरेको भन्दै कार्यकर्ताहरू नेकपाका नेतामाथि खनिएका छन् ।
बुटवललाई नै स्थायी राजधानी कायम गर्ने कि दाङ राजधानी बनाउने भन्ने ठूलो सकसबीच मंगलवारको प्रदेश सभामा दुईतिहाई बहुमतका साथ देउखुरी राजधानी र लुम्बिनी प्रदेश नामकरण भएको छ ।
नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी राजधानी दाङ बनाउन मुख्यमन्त्री शंकर पोखरेललाई सहमति दिएका थिए । तर प्रदेशको पूर्वी क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेकपाका प्रभावशाली नेताहरू विष्णु पौडेल, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, घनश्याम भुसालले स्थायी राजधानी बुटवल नै कायम गराउन कुनै प्रभावकारी भूमिका नखेलेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
बुटवललाई नै राजधानी कायम गर्ने चुनावी मुद्दा बनाएर अगाडि बढेका नेताहरू नै दाङ राजधानी बनाउन सहयोगी बनेको भन्दै २ हजार ३०० उद्योगी व्यवसायीले नेकपा पार्टी परित्याग गरेको घोषणा समेत गरे । राजधानी दाङ कायम भएसँगै बुटवल क्षेत्रमा नेकपा नेतालाई नैतिक संकट पर्नेदेखि आगामी निर्वाचनमा नराम्रो परिणाम देखिने नेताहरू नै बताउन थालेका छन् । नेकपा रुपन्देहीका नेता सिद्धिचरण भट्टराईले नेताहरूले जनतासामु गरेका प्रतिबद्धता विपरीत अहिले राजधानी सरेको भन्दै चुनावी मुद्दा र आन्दोलनमाथि नै प्रश्न उठेको बताए ।
‘अध्यक्षद्वयको सहमतिले राजधानी टुंग्याएर ल्याउने कार्य संघीयताको भावना विपरीत हो । यसले अगामी दिनमा झनै प्रदेशका अधिकार संघबाट तल आउने छैनन्,’ उनले भने, ‘यसले नेताहरूप्रति जनताको विश्वास गुमेको छ । त्यसको परिणाम निर्वाचनमा देखिन सक्छ ।’
साविक लुम्बिनी अञ्चलका ६ जिल्ला पूर्व एमालेको गढको रूपमा चिनिन्छन् । एमाले र माओवादीबीच पार्टी एकीकरण भएपछि हालको नेकपा झनै बलियो भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनतर्फ रहेका १५ निर्वाचन क्षेत्रमा नेकपाले १२ क्षेत्रमा जीत हाँसिल गर्यो । प्रदेश सभाका ३० निर्वाचन क्षेत्रमध्ये २३ क्षेत्रमा नेकपाले नै जीत निकाल्यो । जसले प्रदेश सभामा एक्लै दुईतिहाइ मत पुर्याइदियो । स्थानीय तहमा पनि बहुमत क्षेत्रमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।
‘हामीले भोट हालेर जिताएका नेताहरूले रुपन्देहीलाई ठूलो घात गरे, त्यसको परिणाम आगामी निर्वाचनमा देखिन्छ,’ नेकपा कार्यकर्ता बाबुराम बोहोराले भने, ‘राजधानीका लागि आफ्ना भवन खाली गरेर प्रदेश सरकारलाई दिइयो । आखिरी नेताहरूको घातले गर्दा राजधानी गुम्यो । यसको क्षति भविष्यमा देखिन्छ ।’
रुपन्देहीबाट प्रतिनिधित्व गर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, नेकपा प्रमुख सचेतक भूमिश्वर ढकाल खुलेरै दाङको पक्षमा लागे । जसप्रति नेता कार्यकर्ता रुष्ट छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख समेत रहेका नेकपा रुपन्देही अध्यक्ष शिवराज सुवेदीले समेत कार्यकर्ताको भावना विपरीत दाङ राजधानी सार्न मुख्यमन्त्रीलाई खुलेरै सहयोग गरे ।
रुपन्देहीका सांसद भोजप्रसाद श्रेष्ठले सदनदेखि कार्यकर्तामाझ राजधानी बुटवलबाट सार्न नहुने पक्षमा आवाज उठाइरहे । तर उनले पनि पार्टीको ह्वीप विपरीत रुपन्देहीकै पक्षमा मतदान गर्न सकेनन् ।
नेकपा कार्यकर्ता समुन्द्र जिसीले आफूहरूलाई नेताले भोट बैंकको रूपमा मात्र प्रयोग गर्न थालेको बताए । नेताहरूको झूटको खेती अब धेरै दिन नचल्ने उनले बताए । ‘राज्यबाट पटक–पटक ठगिएको ठाउँ बुटवल अहिले फेरि पनि ठगियो,’ तत्कालीन बुटवल नगरपालिकाका उपमेयर बिमलबहादुर शाक्यले भने, ‘बुटवल राज्यबाट पहिल्यैदेखि ठगिएको ठाउँ हो । तर राज्यले नहेर्दा पनि आफ्नै ढंगले विकास भएर अहिलेको अवस्थासम्म आएको हो । यस पटक प्रदेश राजधानीको सवालमा फेरि ठगियो ।’
‘बुटवल अस्थायी राजधानी भएपछि चहलपहल बढेको थियो । अहिले अत्यन्तै सतही बुझाइका आधारमा भौगौलिक मध्य भागका आधारमा राजधानीलाई देउखुरी सारियो,’ पूर्व एमाले नेता समेत रहेका शाक्यले थपे, ‘यसमा दुःख मान्ने कारण त छैन । तर पूर्वाधारले भरिपूर्ण १२ जिल्लामध्ये बाँके र बर्दियाबाहेक सबै जिल्लाको व्यापारिक नाका समेत बुटवल नै उत्तम थियो ।’
सबैलाई पायक पर्ने ठाउँ छाडेर जानु गलत भएको उनले बताए । ‘मध्य भागको कुरा गर्ने हो भने काठमाडौं पनि मध्य भागमा पर्दैन । ७ प्रदेशमध्ये अन्य कुनै पनि प्रदेशको राजधानी मध्य भागमा छैन,’ उनले भने ।