
कञ्चनपुरको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका सम्पूर्ण सेवा बन्द गरिएका छन् ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीवारदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् ।
सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको संक्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी परीक्षणको कार्यका लागि पठाइएको जनाएको छ ।
परीक्षणको नतिजा नआउँदासम्मका लागि कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएका छन् ।
पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि अतिआवश्यक बाहेकका सेवा बन्द गरिएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाका सेवा बन्द गरिएका हुन् ।
नगरपालिकाको वडा नम्बर २ ले भने असोज २६ गतेसम्मका लागि सेवा बन्द भएको जनाएको छ । अत्यावश्यक सेवा लिनका लागि स्वास्थ्यका मापदण्ड पालना गरी सेवा लिन सकिने नगरपालिकाबाट जारी सूचनामा जनाइएको छ ।