
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको मंगलवार बसेको बैठकले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको कार्यसञ्चालन मार्गदर्शन, २०७७ लाई परिमार्जन सहित स्वीकृत गरेको छ ।
२०७१ साल देखि नै कार्यमञ्चको कार्यसञ्चालन मार्गदर्शनको आवश्यकता महसूस गरी खेस्रा मार्गदर्शन बनाउने कार्यको सुरुवात भई यस उपर, दर्जनौं छलफल कार्यक्रम भई धेरै पटक संसोधन भई, मार्गदर्शन अन्ततः स्वीकृत भएको छ । जुन हामी विपद् व्यवस्थापन समूदायको लागि महत्वपूर्ण उपलब्धी पनि हो ।
संयुक्त राष्ट्र संघीय विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय सचिवालयबाट, विश्वव्यापी रूपमा विभिन्न तहमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन गरी विपद् व्यवस्थापनका कार्यलाई समन्वयात्मक र प्रभावकारी बनाउन सबै सरकारलाई आग्रह गरेबमोजिम नेपाल सरकार, गृह मन्त्रालयले २०६९ सालमा “विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च” गठन गरेको थियो । गृह मन्त्रालयका सचिवज्यूको अध्यक्षता रहदै आएको कार्यमञ्च, २०७६ साल पौष १० गते देखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारीज्यूको अध्यक्षतामा संचालन हुदै आएको छ ।
कार्यमञ्चको सचिवलायको सन्दर्भमा, २०७० साल कार्तिक ७ गते सम्पन्न भएको विपद् जोखिम न्यूनिकरण राष्ट्रिय कार्यमञ्चकोे बैठकले, प्रकोप पूर्व तयार सञ्जाल (डीपीनेट)लाई सचिवालयको जीम्मेवारी प्रदान गरेको थियो जसलाई स्वीकृत मार्गदर्शनले निरन्तरता दिएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुखको अध्यक्षता, बिभिन्न सरोकारवालाहरुको प्रतिनिधित्व सहित गठन हुने कार्यमञ्चको कार्यमितिलाई समाबेसी बनाउन, कम्तिमा २ महिला तथा अपांगता भएका ब्यक्ति समेत रहने राष्ट्रिय कार्यमिति गठन हुने प्रावधान, मार्गदर्शनमा रहेको छ ।
कार्यमञ्चको स्वीकृत मार्गदर्शनले बिभिन्न सरोकारवाला समुहहरु, सरकारी निकायको समूह, सार्वजनिक संस्थान तथा अर्ध सरकारी निकायको समूह, प्राज्ञिक तथा अनुसन्धानमूलक समूह, दाता तथा संयुक्त राष्ट्र सङ्घीय समूह, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था समूह, राष्ट्रिय गैरसरकारी संस्था समूह, व्यवसायिक प्रतिष्ठान तथा निजी क्षेत्रका समूह, सूचना प्रविधि तथा सञ्चार समूह, विपद् प्रभावित समूहको गठनको व्यवस्था गर्नुका साथै विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चलाई प्रादेशिक तह तथा स्थानीय तह सम्म बिस्तार गनुपर्ने ब्यवस्था गरेको छ ।