संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी सेवाबाट अवकाश भएका छन् ।
विसं २०७२ असोज २३ गते सचिव पदमा बढुवा भएका अधिकारी उमेरहदका कारण आजबाट अनिवार्य अवकाश भएका हुन् । आफ्नो पाँच वर्षे कार्यकालमा अधिकारीले सचिवका रूपमा पर्यटन मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरे ।
अवकाश प्राप्त सचिव अधिकारीलाई विदाई गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले कुशल प्रशासकको रुपमा स्थापित अधिकारीले आफ्नो मन्त्रालयको जिम्मेवारीमा रहँदा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका निम्ति गरेको समन्वय र सहयोगकारी भूमिकाको प्रशंसा गरे । उनले मन्त्रीको संसदीय भूमिका तथा मन्त्रीको अनुभवसमेत पहिलो भएकाले सचिवबाट धेरै सहयोग मिलेको बताए ।
हाल पर्यटन मन्त्रालयको सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई निमित्त सचिवको जिम्मेवारी तोकिएको छ ।