
काठमाडौंको बौद्धमा तरकारी व्यापार गर्दै आएका धनुषाका रामानन्द शाहले दुख गरेर किनेको स्कूटी १० दिनमै पशुपतिको वनकालीबाट हरायो ।
बिहान तरकारी किन्न बौद्धबाट कालिमाटी जान साइकलबाट धेरै समय लाग्ने भएपछि ५ महिना अघि उनले नजिकैको फाइनान्समा ४० हजार ऋण लिएर सेकेण्ड ह्याण्ड प्लेजर स्कूटी किनेका थिए ।
लकडाउनमा सार्वजनिक सवारी साधनहरु चलेनन् तर उनको स्कूटीले भने कालिमाटीबाट तरकारी ओसार्ने काम गरेको थियो । स्कूटी आएपछि उनको व्यापार धेरथोर चलिरहेको थियो, उनी खुसी पनि थिए । तर उनको खुसी १० दिनसम्म पनि टिक्न सकेन । पशुपतिको वनकालीबाट गायब भयो ।
शनिवारको दिन तरकारी बोकेर पसलमा पुर्याएपछि बाहिरैबाट भए पनि पूजा गरेर फर्किन्छु भन्दै उनी पशुपति गएका थिए, १० मिनेटमा फर्किदाँ उनको स्कुटर राखेको ठाउँमा थिएन ।

आफैंलाई धिक्कार्दै उनी छिमेकीको सल्लाहमा ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर १०३ मा फोन गरेर स्कूटी नम्बर र इन्जिन नम्बर टिपाए ।
त्यसको ५ महिना पछि आज (शुक्रवार) उनको हातमा ट्राफिक प्रहरीले उनलाई स्कूटी बुझाउँदा उनका आँखा रसाएको थियो ।
‘ट्राफिक प्रहरीले स्कूटी दिँदा मेरा आँखा रसाए । अहिलेसम्म स्कूटी किन्नलाई लिएको ऋण तिर्न सकेको छैन,’ रामानन्दले लोकान्तरसँग भने, ‘अर्को साधन पनि किन्न सकेको थिइनँ ।’
इलाम कन्यामका पवन राई यस्तैमध्येका एक हुन् । भक्तपुरको बोडेमा भदौ ४ गते बिरामी आफन्त भेट्न जाँदा बाहिर राखेको को ३९ प २४३ नम्बरको बुलेट बाइक हरायो ।
उनले प्रहरीलाई फोन गरेर जानकारी गराए । २ महिनापछि बाइक फेला पार्दा उनको पनि खुसीको सीमा रहेन । घरमा झगडा गरेर किनेको बुलेट बाइक हराएपछि उनलाई घर जाउँ कि नजाउँ भएको थियो । बाइक भेटिएपछि घर जाने योजना बनाए, अन्ततः ट्राफिक प्रहरीले उनको योजना साकार पारिदियो ।

‘ट्राफिक प्रहरीलाई धेरै–धेरै धन्यवाद, उनले लोकान्तरसँग भने, 'अहिलेसम्म घर जान समेत पाएको थिइन । घरमा बाइक हराएको भनेकोसमेत थिइन,’ राईले लोकान्तरसँग भने, ‘अब त ढुक्क भएर घर जान पाउने भएको छु ।’
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रवार चोरी भएका २६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
ट्राफिक महाशाखाले भिक्टिम सपोर्ट यूनिट (भीएसयू) स्थापना गरेर चोरीका मोटरसाइकलहरु पक्राउ गरेर सम्बन्धित धनीलाई बुझाउने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भिम ढकालले बताए ।
‘चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाईन सेवा भिक्टीम सपोर्ट यूनिट (भीएसयू) मा लगइन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको छ,’ एसएसपी ढकालले भने ।
८ जना चोर पक्राउ
विभिन्न समयमा उपत्यकामा चोरी गर्ने गिरोहका ८ जनालाई महानगरीय ट्राफिक महाशाखाले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३२ का राजेन्द्र खड्की, ललिपुर रखेलका २६ वर्षीय सन्तलाल स्याङताङ र दोलका शैलुङ का ३० वर्षीय स्योसाङ तामाङलाई पक्राउ गरेको ट्राफिक महाशाखाका प्रहरी निरीक्षक जितेस दाहालले बताए ।

दाहालका अनुसार चोरी गिरोहका मुख्य नाइके उनीहरुको माध्यमबाट अन्य ५ जनालाई पक्राउ गरेर महानरीय प्रहरी वृत चापागाउँमा ६ जना र सातदोबाटोबाट २ लाई मुद्दा चलाइएको छ ।
यस्तै महाशाखको समन्वयमा काठमाडौंबाट मोटरसाइकल चोरी गरेर पाल्पा पुर्याएका ३ जनालाई ट्राफिक प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको इन्स्पेक्टर दाहालले बताए ।
उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सुर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँ बानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, इमाडोल, जडिबुटी, वनकाली, जोरपाटी र पुतली सडकलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।

एकान्त ठाउँको पार्किंङ, घरको गेटबाहिर, अस्पताल लगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ गरेको भनी लापारवाही वा असुरक्षित पार्किङ गरिएका मोटरसाइकलहरू बढी चोरी भएको देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाले यस आर्थिक वर्ष ०७६/०७७ मा मात्रै चोरी भएका ३ सय २५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो भने लकडाउनदेखि हालसम्म अवधिमा पनि ६४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको इन्सपेक्टर दाहालले बताए ।