
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० जना रहेको जनाएको छ ।
शुक्रवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोनाका कारण १० जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
उनका अनुसार, काठमाडौंकी ८७ वर्षीया महिलासहित अन्य ९ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
यससँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा गरिएको १३ हजार २ सय ७९ पीसीआर परीक्षणमा २ हजार ५९ मा संक्रमण देखिएको जनाएका हुन् । यससँगै नेपालमा संक्रमितको संख्या १ लाख नाघेको हो ।
उनले पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ११ सय १६, भक्तपुरमा १३० र ललितपुरमा १६३ संक्रमित फेला परेको बताए ।
नेपालमा गत माघ १० गते पहिलो कोरोना संक्रमण पुष्टि भएको थियो । चीनको वुहानबाट आएका एक युवाको स्वाब नमूना हङकङ लगेर परीक्षण गरिएको थियो ।
त्यसपछि नेपालमा दोस्रो संक्रमण चैत ११ गते देखिएको थियो । फ्रान्सबाट कतारको दोहा हुँदै आएकी एक युवतीमा संक्रमण पुष्टि भएको थियो ।
कोरोनाका कारण गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म लक-डाउन गरियो । तर संक्रमितको संख्या बढ्दै गयो । काठमाडौं उपत्यकामा यो अवस्था भयावह बन्दै गइरहेको छ ।
काठमाडौँ उपत्यकामा भदौ २ गतेदेखि ३ साताका लागि गरिएको निषेधाज्ञाले पनि संक्रमणको दर घटाउन सकेन ।
पछिल्लो समय तीव्र बन्दै गएको संक्रमितको संख्या शुक्रवार १ लाख नाघेको हो ।