
नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारको सुरक्षा संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ ।
विगत ४ वर्षअघिदेखि बिग्रेका क्यामेरा मर्मत गरी सीसीटीभी मंगलवारदेखि सञ्चालनमा ल्याइएको हो ।
कुश्मा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । कुश्मामा २० वटा संवेदनशील ठाउँमा क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।
‘सुरक्षा संवेदनशीलता भएका ठाउँमा क्यामेरा जडान गरिएको छ,’ उनले भने, ‘चोरी, झैझगडा र अन्य अपराध रोक्नका लागि यसले सहयोग पुर्याउने छ ।’
कुश्मा मुख्यचोक, बजार क्षेत्र, लामा र अग्ला पुल, बञ्जीजम्पलगायत ठाउँमा क्यामेरा जडान गरिएको छ । लोकतान्त्रिक चोक, प्रगतिचोक, मैत्रीचोक, आचार्यचोक, दुर्लुङचोक, शिवालयचोक, बन्जीचोक, अस्पताल चोकलगायत स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । यसअघि विक्रम संवत् २०७२ सालमा राखिएकामध्ये ५ वटा क्यामेरा मर्मत गरी पुनः सञ्चालन गरिएको छ भने १५ क्यामेरा कुश्मा नगरपालिकाको सहयोगमा राखिएको छ । पहिलो चरणमा २० वटा राखिए पनि बजार क्षेत्रलाई केन्द्रित गरेर व्यावसायिक प्रतिष्ठानको सहकार्यमा थप क्यामेरा जडान गर्ने लक्ष्य राखिएको प्रनाउ अधिकारीले बताए ।
कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले सीसीटीभीको शुभारम्भ गर्दै बजारमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीसँगको सहकार्यमा सीसीटीभी क्यामेरा मर्मत गरी पुनः सञ्चालन गरिएको बताए । क्यामेरा पुनः सञ्चालनका लागि नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
‘आपराधिक क्रियाकलाप रोक्नका लागि यो प्रविधि सबैभन्दा उपयोगी छ,’ उनले भने, ‘जनशक्ति समेत कम लाग्ने भएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई पनि ठूलो सहयोग पुग्छ ।’
कुश्माबजारमा धिरज कम्प्युटर नेटवर्कले सञ्चालन गरेको नेटको नेटवर्कलाई प्रयोग गरी क्यामेरा जडान गरिएका कारण तारका लागि छुट्टै खर्च गर्नुपरेको छैन । यसअघि विक्रम संवत् २०७२ सालमा धवलागिरि अञ्चलको प्रवेशद्वारको रूपमा रहेको पर्वतको डिमुवाबाट पर्वतको सदरमुकाम कुश्माबजार र वारीबेनीमा समेत क्यामेरा जडान गरिएको थियो । सबै क्षेत्रमा गरी ३५ वटा क्यामेरा जडान गरिएको थियो । सीसी क्यामेरा जडान गर्नका लागि पर्वत उद्योग वाणिज्य संघको संस्थागत पहल तथा जिल्ला विकास समिति र कुश्मा नगरपालिकाले समेत सहयोग पुर्याएका थिए । त्यसका लागि २२ लाख रुपैयाँभन्दा बढी खर्च गरेको तर मर्मतको अभावमा १ वर्षपछि नै सबै क्यामेरा बिग्रिएका थिए ।