
हिमाल पारिको गाउँ भनेर चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा खाद्यान्न पठाइएको छ ।
सिमानाका बन्द भएर खाद्यान्न सामग्री आयात नहुँदा खाद्य संकट भएपछि त्यस क्षेत्रका तीन, जाङ र हल्जी गाउँका १८० घरका लागि मंगलवार वडाध्यक्षको रोवहरमा ३०० क्विन्टल चामल बुझाइएको छ ।
खाद्यान्न संकटपछि लिमीका स्थानीयले विभिन्न सरोकारवाला निकाय, राजनीतिक दललगायतलाई खाद्यान्नको माग गर्दै आएपछि नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङको रोहवरमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न बुझाएको शाखा कार्यालय हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए ।
लिमीका ३ वटै गाउँमा खाद्यान्न संकट परेपछि हुम्लाका विभिन्न निकायले पहल गरेलगत्तै नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले तत्कालका लागि ३०० क्विन्टल चामल उपलब्ध गराएको छ । केही दिन अगाडि मात्रै सो संस्थानले केन्द्रीय कार्यालयमा ५ हजार क्विन्टल खाद्यान्न माग गरे पनि ३०० क्विन्टल चामल मात्रै स्वीकृत भएर गाउँतिर ढुवानी गर्न शुरूआत गरिएको बताइएको छ । अहिलेलाई यति नै भए पनि केही राहत हुने स्थानीयले बताएका छन् ।
अन्य थप खाद्यान्नका लागि पनि पहल गरिरहेको संस्थानका प्रमुख विष्टले बताए ।