
पोखरा महानगरपालिका वडा नंं ३१ का मुटुरोगी कर्णबहादुर दुरालाई सहयोग गर्न शुरु गरिएको ‘दुराकान्छा बचाउ अभियान‘ले बुधबार सङ्कलित रकम हस्तान्तरण गरेको छ ।
स्थानीय युवक महेश पौडेलको संयोजकत्वमा गठित दुरा कान्छा बचाउ अभियानले सङ्कलन गरेको चार लाख ५२ हजार रुपैया नेपाल सरकारका पूर्व कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञवहादुर थापाले दुरालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
थापाले स्वास्थ्यमा नागरिकको सहज पहुँच नहुँदा विपन्न नागरिकलाई बाँच्न गाह्रो भएको जनाउँदै स्वास्थ्यमा सबैको पहुँच हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले सामाजिक अभियानमा राजनीतिभन्दा माथि उठेर सबैले सहयोग गर्न सके कठिन परिस्थितिमा रहेका धेरै नागरिकलाई बचाउन सकिने उल्लेख गरे ।
काँग्रेसका स्थानीय नेता राजेन्द्रमणि लामिछानेले अभियानले जुटाएको सहयोग मानवीयताको एक नमूना भएको बताए । अभियानका संयोजक महेश पौडेलले सबैको उदारमनले सहयोग उठेको उल्लेख गर्दै सामाजिक सेवामा सबै एकजुट हुनुपर्ने धारणा राखे ।