१२ असार २०८३, शुक्रबार

विद्यालय मर्मतका लागि आएको रकम हिनामिना गर्ने इञ्जिनीयर, प्रअ र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

विद्यालय मर्मतका लागि आएको रकम हिनामिना गर्ने इञ्जिनीयर, प्रअ र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय माविको भवन मर्मतका लागि आएको रकममा हिनामिना गरेको आरोपमा काभ्रेको रोशी गाउँपालिकाकी इञ्जिनियर निर्मला लामा स्याङ्तानसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

भवन मर्मतका लागि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकमबाट काम नगरी झुठा विवरण पेश गरी रकम निकासा गराएको अभियोगमा इञ्जिनियर स्याङ्तान, विद्यालयका प्रधानाध्यापक बोधनाथ उप्रेती र विद्यालय व्यवस्थापन समिति अध्यक्ष छेवाङ लामाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध ७ लाख ८४ हजार ४ सय ४६ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।  

हेर्नुहोस्, विज्ञप्ति :

प्रेस विज्ञप्ति :- मिति २०७७।०६।२९ गते ।

श्री हिमालय मा.वि. रोशी-६, काभ्रेपलाञ्चोकमा जिल्ला शिक्षा कार्यालय, काभ्रेपलाञ्चोकबाट बिल्डिङ्ग मर्मतका लागि प्राप्त रकम काम नगरी झुठ्ठा विवरण पेश गरी झुक्याई मूल्याङ्कन गराई रकम निकासा गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा रोशी गाउँपालिकाका इन्जिनियर निर्मल लामा स्याङतान, हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक बोधनाथ उप्रेती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामासमेतले निर्माणस्थलमा भएको कार्यको एकिन र वास्तविक नापजाँच नगरी नभए नगरेको रु.७,८४,४४६।३४ बराबरको कार्यसमेत नापी किताबमा उल्लेख गरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी निर्णाणस्थलमा हुँदै नभएको कार्यको उक्त रकमसमेत भुक्तानी लिई निजहरु बोधनाथ उप्रेती, छेवाङ लामा र निर्मल लामा स्याङतानले सरकारी रकमको हिनामिना,  हानिनोक्सानी र दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको देखिंदा बिगो रु.७,८४,४४६।३४ (अक्षेरुपी सात लाख चौरासी हजार चारसय छ्यालीस रुपैँया चौतीस पैसा) कायम गरी निजहरु बोधनाथ उप्रेती, छेवाङ लामा र निर्मल लामा स्याङतान तीनै जनालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी हिनामिना हानिनोक्सानी गरेको बिगो रकम निजहरुबाटै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर गरी हुँदै नभएको काम भएको भनी गलत नापी किताव तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी प्रमाणित गर्ने यी तीनैजना आरोपितहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम समेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
तारानाथ अधिकारी

salt training

कमेन्ट गर्नुहोस्