
विना विभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेलले रक्षा मन्त्रालयलाई हाई प्रोफाइल मन्त्रालय बनाएको दाबी गरेका छन् ।
यसअघि रक्षा मन्त्रालय कसैको रोजाइमा नपर्ने भए पनि आफू आएपछि हाइप्रोफाइल मन्त्रालयको रूपमा विकास गरेको उनको दावी थियो ।
बिहीवार मन्त्रालय परिसरमा आयोजित बिदाइ कार्यक्रममा उपप्रम पोखरेलले नेपाली सेनाको हितका लागि आफूले धेरै काम गरेको बताएका हुन् । उनले रक्षा मन्त्रालयका कर्मचारीलाई भाग्यमानी भनेर सम्बोधन गरे ।
‘रक्षा मन्त्रालयका सबै साथीहरू भाग्यमानी रहेछौँ । यसअघि मन्त्रीले हेर्ने गरेकोमा अब प्रधानमन्त्रीको मातहतमा आयो । सिधै प्रधानमन्त्रीले हेर्ने भएपछि सबै भाग्यमानी भयौं, यसलाई सुखद् संयोग मान्नुपर्छ,’ पोखरेलले भने ।
उपप्रधानमन्त्री पोखरेलले अब आफूले प्रधानमन्त्री कार्यालयमा रहेर सबै मन्त्रालयको समन्वय गर्ने बताए ।
बुधवार भएको मन्त्रिपरिषद् पुनर्गठनमा रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले राखेर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेका थिए ।