वाल्टर रीड नेसनल मिलिटरी मेडिकल सेन्टरबाट निस्केर चुनाव प्रचार जोडतोडका साथ गरिरहेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले समर्थकहरूलाई खुशी बनाइरहेका छन् ।
चार दिनअघि उनले फ्लोरिडाको सानफोर्डमा एक भेलालाई सम्बोधन गरे । त्यसपछि उनी नर्थ क्यारोलाइना र फ्लोरिडाको मायामीमा पनि प्रचारका लागि पुगिसकेका छन् ।
सोमवार ट्रम्पले फ्लोरिडाको भेलालाई सम्बोधन गर्दा आत्मविश्वास र मजबूतीको छवि प्रस्तुत गरेको ओहायोमा रहेको बाल्डविन वालेस विश्वविद्यालयका प्राध्यापक टमस सट्टनले बताए ।
‘मतसर्वेक्षण अनि अनेकौं स्विङ स्टेटमा उनी पछाडि देखिएका छन् र पुनर्निर्वाचित हुनका लागि यसलाई सुधार्नु महत्त्वपूर्ण हुन्छ,’ सट्टनले भने । ‘त्यसैले उनी आफ्ना कट्टर समर्थकहरूमाझ गएर स्वास्थ्यका विषयमा व्यक्त गरिएका चिन्ता निवारण गर्न चाहन्छन् । अनि सक्रिय रूपमा चुनाव प्रचार गरेर उनी कोरोना व्यवस्थापनको बहसलाई किनारीकृत गर्न खोज्दैछन् ।’
फ्लोरिडाको भेलामा ट्रम्पले आफू शक्तिशाली अनुभव गरिरहेको र कोभिड–१९ बाट संक्रमित हुने विषयमा चिन्तित नभएको बताए ।
‘
म दर्शकदीर्घामा सबैलाई चुम्बन गर्नेछु । म पुरुष र सुन्दर महिला सबैलाई चुम्नेछु । सबैलाई । तपाईंहरू सबैलाई ठूलै चुम्बन दिनेछु,’ खुशीले चिच्याइरहेका समर्थकहरूलाई ट्रम्पले बताए ।
ट्रम्पको आत्मविश्वास उनको हाउभाउमा पनि स्पष्ट भएको शारीरिक भाषाका विज्ञहरू एलन पीज र बारबरा पीजले बताए ।
‘तपाईं उनलाई माया गर्नुस् कि घृणा गर्नुस् तर ट्रम्पले फ्लोरिडामा सही शारीरिक भाषा उपयोग गरे । उनले हत्केला खुला राखे, मुस्काए, आँखा जुधाएर कुरा गरे अनि आफ्नो सन्देशसँग तालमेल हुने हाउभाउ देखाए,’ उनीहरूले व्याख्या गरे ।
‘आफू फर्केको र यसरी फर्किँदा निकै खुशी अनुभव गरेको उनले समर्थकहरूलाई सन्देश दिए । उनी क्यामरा अगाडि आराम अनुभव गर्छन् र समर्थकहरूको विशाल भीडमा आनन्द महसूस गर्छन्,’ उनीहरूले थपे ।
कुनै पनि सन्देश प्रवाहमा हाउभाउले ६० देखि ८० प्रतिशत असर पार्छ र ट्रम्पलाई त्यो कुरा राम्रोसँग थाहा छ । उनले यसमा महारथ हासिल गरेका छन् । पीजद्वय भन्छन्, ‘आफ्ना समर्थकहरूमाझ उनी जोश र आत्मविश्वासको सन्देश दिन सफल छन् । शरीर खुला राख्ने, हात चौडा बनाउने र हत्केला खोल्ने उनको हाउभाउले यही देखाउँछ । उनी हृदयदेखि कुरा गर्छन् र प्रतिद्वन्द्वी जो बाइडनको मजाक उडाउँदा मज्जाले हाँस्छन् ।’
आफ्नो कुरा दह्रोसँग राख्नुपर्दा ट्रम्प कि हात बजार्छन् कि बूढी औंला र चोरी औंला जोडेर हात हल्लाउँछन् । अनि आफ्ना विपक्षीहरू र मिडियाको कुरा गर्दा चोरी औंला ठड्याउँछन् । लगत्तै उनी थप सकारात्मक सन्देश र खुला हाउभाउमा फर्किन्छन् ।
‘उक्त भेलामा ट्रम्पको हाउभाउ उनको सन्देशकै अनुकूल थियो किनकि उनी आफूले बोलेको कुरामा विश्वास गर्छन्,’ पीजद्वय भन्छन् । ‘आफूले गरिरहेको कामलाई उनी मन पराउँछन् र त्यो कुरा उनको मुस्कान र खुकुलो हाउभाउले बताउँछ । उनले जस्ता किसिमका राजनीतिक निर्णय लिने गरेको भए पनि उनी औसत राजनीतिकर्मीभन्दा बढी जीवन्त र आत्मीय लाग्ने भएकाले उनका कट्टर समर्थकहरू धेरै छन् ।’