
नेकपाको कर्णाली प्रदेशसभाभित्रको विवाद पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली प्रचण्डको आपसी परामर्शमा समाधान हुने भएको छ । सो प्रदेशसभामा रहेका नेकपाका बहुमत सदस्यले पार्टीको प्रदेशसभा दलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत साता अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बाहिरिएको थियो ।
विवाद बढेपछि पार्टीको नेतृत्वले चासो दिन थालेपछि असन्तुष्ट प्रदेशसभा सदस्यहरु काठमाडौँ आएर राजनीतिक भेटघाटमा जुटेका थिए । उनीहरुले आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राखेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले आफू र अध्यक्ष ‘प्रचण्ड’ बसेर यस विवादको समाधान गर्ने जनाएको प्रदेश सांसद गुलाबजंग शाहले जानकारी दिए । सदस्यले शुक्रबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेका थिए ।