२२ असार २०८३, सोमबार

दुध बेचेर मदिरा पिउने संस्कार बसेको गाउँका स्थानीयले शान्तिको श्वास फेर्न थाले

कात्तिक २, २०७७
दुध बेचेर मदिरा पिउने संस्कार बसेको गाउँका स्थानीयले शान्तिको श्वास फेर्न थाले

मदिरा सेवनका कारण दैनिक घर झगडा र किचलोले आजित  डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका महिलाहरुले अहिले शान्तिको श्वास फेर्न थालेका छन् । पहिला पहिला गाउँमा मदिराका कारण अशान्ति नभएको सायद कुनै दिन हुँदैनथ्यो ।

महिलाहरु दिनभरी घरदेखि मेलापातको काम गर्ने तर पुरुषहरु जुवा खेल्ने र राति मादक पदार्थ सेवन गरी घरमा झगडा गर्ने गरेका कारण उक्त वडामा जहिल्यै विवादका घटना भइरहन्थे । यस गाउँका युवादेखि वृद्धसम्मले भैसीको दुध बेचेर मदिरा पिउने एक प्रकारले संस्कार नै बनिसकेको थियो । घरको सबै काम श्रीमतीले गर्नुपर्ने र श्रीमान्ले बसेर खानुपर्छ भन्ने गलत मानसिकताका कारण यहाँका महिलाहरु वर्षौदेखि पीडित बन्दै आएका थिए ।
मदिराकै कारण वडाभरीका नागरिक असुरक्षित हुन थालेको गुनासोपछि  नगरप्रमुख मञ्जु मलासीको पहलमा जिल्ला प्रहरी कार्यालय, डोटीले कलेना गाउँमा अस्थायी प्रहरी चौकी स्थापना गरेपछि अहिले शान्ति छाएको स्थानीयबासी इन्द्रबहादुर साउदले बताए । उनले भने, “मदिराका कारण कतिपयका घरबार बिग्रिए, कतिपयको त ज्यानै गइसक्यो, बल्ल अहिले प्रहरी चौकी राखियो, अब शान्तिसँग बस्न पाइने भइयो ।” जिल्ला सदरमुकाम सिलगढीबाट करिब आधा घण्टाको पैदल दुरीमा रहेको कलेना गाउँ विकासका हिसाबले पछाडि मानिन्छ ।
विशेषतः कलेना गाउँ र त्यहाँका मानिसहरुले सिलगढीमा दुध बेच्ने र सोही दुधबाट आएको पैंसाले मदिरा सेवन गर्ने र झगडा गर्ने ठाउँका रुपमा लामो समयदेखि आलोचित बन्दै आएको दिपायल सिलगढी नगरपालिका–६ का स्थानीय हरिष धामीले बताए । उनले भने, “घरबाट शुद्ध भैसीको दुध, दही, घिउलगायत अन्य पोषिलो वस्तु बेचेर र फर्कँदा सिलगढीमा कमसल खालको ९ठेउका० मदिरा खाने गाउँका रुपमा कलेनाका नागरिक चिनिँदै आएका थिए ।
नवस्थापित प्रहरी चौकीको उद्घाटन गर्दै प्रमुख मलासीले अमृत बेचेर जहर किनेर खाने कलेनाबासीको प्रवृत्तिको अन्त्य भएको बताए । उनले भने, “घरमा भएको अमृत बेचेर जहर खाने प्रवृत्तिको अन्त्यका लागि प्रहरी चौकी स्थापना गरेका छौँ, अब जहर बेच्ने र खानेलाई कारवाही हुन्छ ।”
नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्य सुरक्षा निकायको सहयोगमा चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए ।

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले महिला र बालिबालिका लगायत गाउँका अन्य नागरिकलाई शान्तिसुरक्षामा समस्या भएमा जतिबेला पनि उजुरी गर्न सकिने जनाए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा हाललााई सात जनाको टोली खटाइएको छ । नगरपालिकाले विसं।२०७४ भादौ ७ गतेबाट कलेनालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेपनि मदिरा कारोबार भने रोकिएको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्