
नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक आइतबारदेखि सुरु भएको छ । जंगी अड्डामा सुरु भएको तीन दिने सो बैठकको प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट शुभारम्भ गरेका छन् ।
उक्त कार्यक्रममा प्रधानसेनापति, रक्षा सचिव तथा जङ्गी अड्डाका रथीलगयतको उपस्थिती रहेको थियो भने पृतनापतिहरु यथास्थानबाट भर्चुअल माध्यमबाट सहभागी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएकोछ ।
शुभारम्भ मन्तब्यको क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै यस्ता विषयहरुमा नियमीत अन्तरक्रिया भइरहनु पर्ने र यस्तो छलफलबाट महत्वपूर्ण निष्कर्षहरु निस्कने विश्वास व्यक्त गरे ।

उनले कोभिड–१९ प्रतिकार्य, रोकथाम र नियन्त्रण, शव व्यवस्थापन तथा विपदका विभिन्न घटनाहरुमा उद्धार तथा सहयोगमा नेपाली सेनाले खेलेको भूमिकाको उनले प्रशंशा गरे ।
यसैगरी प्रधानसेनापति पुर्णचन्द्र थापाले कोभिड–१९ महामारीका कारण सृजित अन्यौलता एवं निराशा तथा आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुनसक्ने चुनौतिहरुको सामना गर्ने गरी आगामी कार्ययोजनाको निर्माण गर्न यो समन्वयात्मक बैठक उपयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्दै नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट सकारात्मक सहयोग प्राप्त भइरहेको र यस्तै सहयोग भविष्यमा पनि निरन्तर भइरहने अपेक्षा राखे ।
समन्वयात्मक बैठकको क्रममा सहभागी महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ ।
