१० साउन २०८३, आइतबार

बुटवल उपमहानगरको कार्यपालिका बैठक  : आइसियू र भेन्टिलेटर थप गर्न प्रदेश सरकारलाई आग्रह

कात्तिक ३, २०७७
बुटवल उपमहानगरको कार्यपालिका बैठक  : आइसियू र भेन्टिलेटर थप गर्न प्रदेश सरकारलाई आग्रह

बुटवल उपमहानगरपालिकाले भेन्टिलेटर र आइसियूका बेड थप गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ । जुनसुकै उमेर समूहको संक्रमितलाई पनि आइसियू र भेन्टिलेटर आवश्यक परेका बेला उपमहानगरपालिकाले यस्तो आग्रह गरेको हो । 

उपमहानगरको ६८ औं कार्यपालिका बैठक बसेर जनस्वास्थ्यमा थप संवेदनशील बन्न प्रदेश सरकारलाई आग्रह गर्दै सहकार्य र समन्वयका लागि हरदम तत्पर रहेको निर्णय गरेको छ । 

उपमहानगरपालिकाका कर्मचारी नायव सुब्बा नारायण ज्ञवालीको आइसियू बेड अभावका कारण कोरोना संक्रमणबाट शनिबार मृत्यु भएपछि नगरपालिकाले कम्तीमा २५ बेड थप गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए । 

उपमहानगरपालिकाले आइसियू र भेन्टिलेटर बेड थपका लागि मापदण्ड पुग्ने नगरभित्रका जुनसुकै भवन समेत उपलब्ध गराउन तयार रहेको बताउदै प्रमुख सुवेदीले आवश्यक जनशक्ति र बजेट व्यवस्थापनमा सहजीकरण गर्ने स्पष्ट पारे । 

उपमहानगरपालिले महामारी सुरु हुने बेलामा गत चैतमै बुटवल–१० धागो कारखानामा २४ घण्टामै ५० वेडका कोरोना विशेष अस्पताल र धागो कारखानामै लुम्बिनी प्रादेशिक अस्पताल र विभिन्न संघ संस्थाको सहकार्यमा आइसियू र भेन्टिलेटर सहितका कोरोना विशेष अस्पताल निर्माण गरेको थियो । 

अहिले कोरोना विशेष अस्पताल र प्रादेशिक अस्पतालमा आइसियू र भेन्टिलेटरको चरम अभाव छ । संक्रमण तीब्र रुपमा फैलिएपछि निजी मेडिकल कलेजलाई पनि कोरोना अस्पतालमा रुपान्तरण गर्न समुदाय स्तरबाट माग आएको छ । 

उपमहानगरका कर्मचारीको कोरोना संक्रमण भएर समयमै भेन्टिलेटर नपाउँदा निधन भएको समाचार बाहिरिएपछि बुटवल लगायतका क्षेत्रमा चिन्ता र त्रास बढेको छ । 

लक्षण नदेखिएका संक्रमित एक्कासी सिथिल हुने र स्वासप्रश्वासमा समस्या आएर तत्कालै भेन्टिलेटरको साहारामा जानुपर्ने अवस्था रहेको चिकित्सकहरुले बताएका छन । महामारीमा यो अर्को चरणको खतराको अवस्था हो । 

salt training

कमेन्ट गर्नुहोस्