०८ साउन २०८३, शुक्रबार

प्रकाशमानले पनि फिर्ता गरे दशैं भत्ता, सरकारले सुनियोजित रूपमा बदनाम गराउन खोजेको आरोप

कात्तिक ३, २०७७
प्रकाशमानले पनि फिर्ता गरे दशैं भत्ता, सरकारले सुनियोजित रूपमा बदनाम गराउन खोजेको आरोप

प्रतिनिधि सभाका सांसद एवम् नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले दशैं भत्ता फिर्ता गरेका छन्  ।

उनले सोमवार एक विज्ञप्ति जारी गर्दै दशैं भत्ता फिर्ता गर्ने घोषणा गरेका हुन् । 

उनले भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम  गर्ने दुराशय राखेको भन्दै आक्रोश पोखेका छन् । 

उनले महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्ने बताएका छन् । 

यस्तो छ उनले जारी गरेको प्रेस विज्ञप्ति
अहिले विश्वनै कोरोना महामारीको मारमा रहेका बेला नेपाल पनि अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । नागरिकहरु समस्यामा रहँदा सरकार आफ्नो जिम्मेवारीबाट भाग्ने र अनुत्तरदायी बन्ने बाटोमा अग्रसर छ । चीनको बुहानबाट कोरोना भाइरस फैलिएलगत्तै कांग्रेसले संसदमा नै सरकारलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गरेको र त्यसका लागि आफुले गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्दता जनाएको सबैलाई थाहै छ । तर, सरकार समय छँदा गैरजिम्मेवार अभिव्यक्तिमै रुमल्लियो ।  कोरोना नियन्त्रणका नाममा करोडौं रकम अनियमिततामा समेत सरकार मुछियो । जनता कोरोनासँग संघर्षमा रहँदा सरकारका मन्त्रीहरु मेडिकल सामाग्री खरिदका नाममा विचौलिया पोस्ने र कमिसनको चक्करमा रमाउने गरेको देखियो । महामारीको यस्तो संकटपुर्ण बेलामा सरकार अत्यन्त अमानवीय र असंवेदनशिल देखिएकोमा हामी खेद व्यक्त गर्न चाहन्छौं । 

विकास कि जनताको जीवन ? भन्ने प्रश्न आउँदा जनताको जीवन सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ । त्यसैले कांग्रेसले कोरोना शुरु हुनासाथ संसद विकास कोषको रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्न माग गर्दै आयो । तर, १२ अर्ब सकिएको सरकारले हिसाव देखाउँदा जनताले सही काममा सो रकम खर्च भयो भनेर विश्वास गर्ने कुनै ठाउँ रहेन । न मेडिकल सामाग्री खरिद गरिएको छ । न त उपयुक्त आइसोलेसन वार्ड बन्यो । न त भेन्टिलेटर बनाइयो, न आइसियु वार्ड नै थपिएको छ । जनताले करिब दुई तिहाई मत दिएर बनेको सरकार इतिहासमै जनताप्रति गैरजिम्मेवार सरकारका रुपमा स्थापित हुन पुगेको छ । 

एकातिर जनतालाई पीसीआर परिक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय छ । आफु भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम  गर्ने दुराशय राखेको प्रष्ट छ । महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ । तसर्थ, दशै.भत्ता भन्दै मेरो नाममा आएको रकम फिर्ता गर्ने जानकारी गराउँदछु । साथै नेपाली कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर आफुजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन म आग्रह  गर्न चाहन्छु । 

जय नेपाल 
प्रकाशमान सिंह
प्रतिनिधिभा सदस्य, काठमाडौं क्षेत्र नं १

salt training

कमेन्ट गर्नुहोस्