
महामारीको समयमा सांसदहरूले दशैं भत्ता लिएको भन्दै व्यापक जनदबाब परेपछि ठूला दलले संस्थागत निर्णय गरेरै दशैं भत्ता फिर्ताको प्रक्रिया शुरू गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनपछि कांग्रेस संसदीय दलले भत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्राचार गर्दैछ ।
सांसदहरूले दशैं भत्ता बुझेको बारे शुक्रवार लोकान्तर डट्कममा पहिलोपटक समाचार प्रकाशित भएपछि आइतवार केही सांसदले भत्ता फिर्ता गरिसकेका छन् ।
सत्तारुढ नेकपा संसदीय दल पनि संस्थागत निर्णय गरेर सांसदहरूको दशैं भत्ता फिर्ता गराउने तयारीमा छ ।
राष्ट्रिय सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले संस्थागत रूपमै निर्णय गरेर भत्ता फिर्ताको तयारी भइरहेको लोकान्तरलाई जानकारी दिए ।
संसद्को तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले पनि दशैं भत्ता फिर्ताका लागि छलफल शुरू गरेको छ ।
सो दलको केन्द्रीय कार्यकारिणी बैठक चलिरहेको छ । सो बैठकबाटै भत्ता फिर्ताको निर्णय हुने एक सांसदले बताए ।