
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिए ।
थपिनेमा कास्कीका २७, स्याङजाका चार र तनहुँका एक जना छन् । सङ्क्रमित सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनकबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३३२ जना कोरोना सङ्क्रमित थपिएका छन् जसमा १३२ महिला र २०० पुरुष छन ।
थपिएका सङ्क्रमितमा मोरङमा १४४ मध्ये ७१ विराटनगरमा, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा छ , सङ्खुवासभामा चार, इलाममा एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सो अवधिमा ४६५ जना डिस्चार्ज पनि भएका छन् ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार ९८८ पुगेको छ भने अहिलेसम्ममा छ हजार ३९ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा आज एक हजार १४४ सहित कुल एक लाख ४७ हजार ९९४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।