२६ असार २०८३, शुक्रबार

बागमती शुद्धीकरण अभियानमा २०० युवा परिचालन गरिँदै

कात्तिक ४, २०७७
बागमती शुद्धीकरण अभियानमा २०० युवा परिचालन गरिँदै

नागरिकस्तरबाट सात वर्ष अघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानमा जागरण फैल्याउन युवावर्ग पनि लागि पर्ने भएका छन् ।
एसियाली विकास बैङ्क अन्तर्गत एसियाका लागि युवाले वाग्मती युवा कार्यक्रममा जनचेतना अभिवृद्धि गर्न २०० युवालाई तालिम शुरु गरेको छ । वाग्मती नदीले छोएका गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका एवं काठमाडौँ र ललितपुर महानगरपालिकाका १२ वटा वडाका युवाको तालिममा सहभागिता रहेको राष्ट्रिय युवा साझेदारी संयोजक नीरजबाबु भट्टले बताए ।
तालिममा वाग्मती नदीले छोएका गोकर्णेश्वरको वडा नं.–७, कागेश्वरी मनोहराको वडा नं.–८, काठमाडौँ महानगरपालिकाका वडा नं. ८, ९, १०, ११, १२, ३१ र ३२, ललितपुर महानगरपालिकाका वडा नं. १, २ र १० वडाको सिफारिसमा युवालाई तालिममा सहभागी गराइएको छ । अनलाइनका माध्यमबाट तीन हप्ताअघिदेखि जारी तालिम अर्को तीन हप्तामा सकिने छ ।

 वाग्मतीका सहायक नदी क्षेत्रमा बसोवास गर्ने युवालाई पनि तालिममा सहभागी गराइएको उहाँले बताउनुभयो । तालिमका सहभागीबाट प्रस्तुत हुने वाग्मती शुद्धीकरण अभियानमा सहयोग पुग्ने १० योजनालाई कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोग समेत गरिने जनाइएको छ ।
उत्कृष्ट १० समूहलाई ३०० अमेरिकी डलरका दरले सहयोग गरिने छ । बाँकी योजनालाई अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति लगायत सरोकार भएका निकायका माध्यमबाट सहयोग जुटाउन प्रोत्साहन गरिने छ ।
तालिमका क्रममा सहभागी युवालाई दिगो विकास लक्ष्य, नदी र फोहर मैला व्यवस्थापनका लागि प्रशिक्षण दिइएको छ । वाग्मती एवं यसका सहायक नदी क्षेत्रको समुदायस्तरमा प्रशिक्षण, वृक्षरोपण, बगैँचा निर्माण गरी नदी सभ्यताको शुद्धीकरणमा सहयोग जुटाउन युवा परिचालन गरिने जनाइएको छ ।

नदी सभ्यताको संरक्षणमा युवा परिचालन कार्यक्रमले विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानलाई पनि सहयोग पुग्ने विश्वास गरिएको छ । हाल प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ अभियान जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्