
भारतको उत्तर प्रदेशमा एउटा अचम्मको घटना भएको छ । कानपुरमा घुमिरहेको एउटा बाख्रालाई प्रहरीले मास्क नलगाएको आरोपमा गिरफ्तार गरेको हो ।
यो घटना गत जुलाई महिनाको हो । मास्क नलगाएको आरोपमा बाख्रालाई गिरफ्तार गरेर कानपुर प्रहरीले चौकी पुर्याएको थियो ।
तर अचम्मको कुरा के भने मास्क चाहिँ बाख्राको मालिकले लगाएका थिएनन् ।
अनावरगंज प्रहरी चौकीका प्रहरी अधिकारी सैफुद्दीन वेगले भारतीय समाचार एजेन्सी आइएनएएसलाई भने, ‘मास्क नलगाएको एक व्यक्तिले जब बाख्रा लिएर हिंडिरहेको हामीले देख्यौं, तब त्यो व्यक्ति भाग्यो । हामीले बाख्रालाई समातेर प्रहरी चौकी ल्यायौं ।’
बाख्रालाई गिरफ्तार गरेका ती प्रहरी अधिकारीले लक-डाउन उल्लङ्घन गरेको भन्दै बाख्रालाई समातेको स्वीकार गरे । बाख्रा लिएर हिंड्नेले मास्क नलगाएको र बाख्रा सडकमै छोडेर भागेकाले बाख्रालाई प्रहरी चौकी ल्याउनुपरेको उनको स्पष्टोक्ति थियो ।
बाख्राको मालिक केही समयपछि मास्क लगाएर प्रहरी चौकी आए । उनलाई पशु बाहिर नछोड्ने, लक-डाउन उल्लङ्घन नगर्ने र मास्क लगाएर मात्र बाहिर हिंड्ने शर्तमा बाख्रा दिइएको थियो ।