
विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का संक्रमितको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ ।
शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित बीपी मेमोरियल अस्पतालमा उपचाररत १३ संक्रमितको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आह्वान गरेका छन् ।
उनले कोभिडका संक्रमितहरू निको भएर आएकाले प्लाज्मा दान गर्न सक्ने जनाउँदै रेडक्रसको बिर्तामोड शाखामा रहेको प्लाज्मा बैंकमा आएर निःशुल्क दान गर्न आग्रह गरे । ‘संक्रमितको संख्या बढेसँगै कतिपय गम्भीर अवस्थामा आईसीयूमा हुनुहुन्छ,’ उनले भने, ‘४ जनालाई तत्काल प्लाज्मा चाहियो भनेर बिरामीका आफन्तले मागिरहनुभएको छ । उहाँहरूको जीवन बचाउन कोरोना जितेकालाई अपील गर्दछौं ।’
उनले हालसम्म ८ जनालाई प्लाज्मा बैंकमा जम्मा भएको प्लाज्मा निःशुल्क प्रदान गरेको बताए । बैंकमा ४ पोका प्लाज्मा मौज्दात रहे पनि ब्लड ग्रूप नमिलेका कारण दिन नसकेको बताए । सभापति ढकालले चितवन, धरान र मोरङमा रहेका बैंकबाट समेत प्लाज्मा ल्याएर संक्रमितको उपचारमा सेवा दिइरहेको बताए । जिल्लामा हालसम्म १० जनाले प्लाज्मा दान गरेका छन् ।
जिल्लामा कूल संक्रमित १ हजार ६५१ जनामध्ये १ हजार १०० जना निको भइसकेका छन् । होम आइसोलेसनमा ३८८ जना रहेका छन् । संक्रमणबाट मुक्त भएको २० दिनपछि प्लाज्मा दान गर्न मिल्ने जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।