
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीच भविष्यमा सैन्य गठबन्धन हुन सक्ने बताएका छन् ।
संसारको दोस्रो र तेस्रो सबभन्दा ठूलो सैन्यशक्ति भएका दुई मुलुकबीचको गठबन्धन कुनै कुनै क्षेत्रमा अमेरिकी सेनाभन्दा बढी शक्तिशाली हुनेछ ।
पुटिनले बिहीवार दिएको बयानले मस्को र बेइजिङबीचको सम्बन्ध गहिरिँदै गएको संकेत दिएको छ । अमेरिकासँग दुवै देशको तनाव चलिरहेको सन्दर्भमा यो बयान अर्थपूर्ण छ ।
परराष्ट्रनीतिविद्हरूसँगको भिडियो कन्फरेन्समा पुटिनलाई मस्को र बेइजिङबीचको सैन्य गठबन्धन सम्भव छ भनी प्रश्न सोधिएको थियो । त्यतिखेर पुटिनले जवाफ फर्काएका थिए, ‘अहिले हामीलाई यो आवश्यक छैन तर सिद्धान्ततः यसको कल्पना गर्न सम्भव छ ।’
रुस र चीनले आफूहरूबीचको रणनीतिक साझेदारीको प्रशंसा गर्ने गरेका छन् तर सैन्य गठबन्धन बनाउने सम्भावनालाई चाहिँ अस्वीकार गर्दै आएका छन् ।
रुस र चीनको सेना ग्लोबल पावर इन्डेक्समा दोस्रो र तेस्रो स्थान स्थानमा छन् र अमेरिका मात्र उनीहरूभन्दा अगाडि छ । उनीहरू मिले भने चाहिँ कतिपय क्षेत्रमा अमेरिकाभन्दा माथि हुन्छन् ।
चीनसँग पूर्णकालीन सैनिक र स्थल सैनिक दुवै संसारमै सबभन्दा बढी छ । उसका पूर्णकालीन सैनिकको संख्या २१ लाख ८३ हजार छ भने स्थल सैनिकको संख्या १० लाख छ ।
रुससँग ९ लाख पूर्णकालीन सैनिक छन् भने ४ लाख स्थल सैनिक छन् ।
अमेरिकासँग १३ लाख ७२ हजार पूर्णकालीन सैनिक छन् भने ४ लाख ७५ हजार स्थल सैनिक छन् ।
रुस र चीनका सेना मिले भने अमेरिकासँग उनीहरूको भन्दा कम सशस्त्र गाडी, रकेट आर्टिलरी वाहन, लडाकू विमान र पनडुब्बी हुनेछन् ।
रुससँग अहिले नै संसारको सबभन्दा धेरै आणविक हतियारको भण्डार छ । उससँग ६३ सय ७५ वटा आणविक वारहेड छन् । चीनसँग २९० वारहेड छन् ।
अमेरिकासँग ५८ सय आणविक वारहेड छ ।
रुस र चीनबीच सैन्य गठबन्धन भयो भने त्यो निकै शक्तिशाली हुनेछ तर अमेरिकी सेनाको खर्च रुस र चीनको संयुक्तभन्दा पनि दुई गुणा बढी छ ।