
काठमाडौं, २८ वैशाख — 'बाहुबली २ : द कन्क्लुजन' कैयौं वर्षमा एकचोटि बन्ने फिल्म हो । बक्स अफिसमा धमाका मच्चाइरहेको यो फिल्म त दशबीस वर्षमा एकचोटि बन्छ ।

फिल्मको व्यापारको उच्च मापदण्ड कायम गर्नका लागि सूरज बडजात्याको फिल्म 'हम आपके हैं कौन' सफल भएको थियो । त्यसअघि रमेश सिप्पीको 'शोले'ले धमाका मच्चाएको थियो ।
तर एसएस राजामौलीको 'बाहुबली २' ले त देशभरि बक्स अफिसका सबै कीर्तिमान तोडिसकेको छ । यसको फाइदा र बेफाइदा दुवै छन् ।
नकारात्मक कुरा चाहिँ 'बाहुबली' जस्तै फिल्म बनाउनका लागि होडबाजी चलेको छ ।
युएईका एक व्यापारीले 'महाभारत'माथि फिल्म बनाउनका लागि दश अर्ब भारु खर्च गर्ने इच्छा देखाएका छन् । उनले मलयालमका सुपरस्टार मोहनलाललाई भीमको भूमिकाका लागि मनाइसकेका छन् भने हृत्तिक रोशनले कृष्णको भूमिका खेले हुन्थ्यो भन्ने चाहन्छन् ।
तेलुगु निर्माता अल्लु अरविन्दले 'गजनी'का निर्माता मधु मन्तेना र नमित मल्होत्रासँग मिलेर तीन भाषामा 'रामायण' बनाउन चाहेका छन् । तीन भागमा बन्ने यस फिल्मको बजेट पाँच अर्ब भारु हुने अनुमान छ ।
रितेश देशमुखले पनि छत्रपति शिवाजीको कथामाथि फिल्म बनाउनका लागि दुई अर्ब २५ करोड खर्च गर्ने योजना बुनिरहेका छन् ।
फिल्म व्यापारका लागि यी सुखद खबरहरू भएपनि यसमा अत्यन्त सचेतताका साथ अघि बढ्नु जरूरी छ ।
धेर पैसा खर्च गर्दैमा राम्रो फिल्म बन्छ भन्ने छैन । बलिउडमा त सञ्जय लीला भन्सालीले ठूलो स्केलमा फिल्म बनाउन जान्दछन् तर अरूमा यसको कौशल छैन ।
आशुतोष गोवारिकरले भव्य फिल्म बनाउन खोज्छन् तर काइते कथा र झुर प्रेजेन्टेसनका कारण उनका फिल्म प्रायः फ्लप हुन्छन् । 'मोहनजोदारो'कै उदाहरण हेर्नुस् ।
त्यसैले अर्को 'बाहुबली' जस्तो फिल्म बनाउनुअघि निकै सोचविचार गर्नुपर्छ । सबै कुरा मिलेपछि मात्र 'बाहुबली' जस्तो लार्ज स्केलको फिल्म बनाउने आँट गर्नुपर्छ ।
एजेन्सी