
काठमाडौं, १९ मंसिर – भारत सरकारले नेपालको संविधान संशोधन प्रक्रियाप्रति समर्थन जनाउँदै संशोधनले मात्र समस्याको समाधान गर्ने बताएको छ । नेपालस्थित भारतीय दूतावासले आइतवार एक विज्ञप्ति प्रकाशित गरी संविधान संशोधनलाई महत्वपूर्ण कदम भनेको हो ।

‘हामी नेपाल सरकारले संवाद र संवैधानिक प्रक्रियाको माध्यमले समाजका सबै तप्काका चाहनालाई सम्बोधन गर्ने पहलकदमीको समर्थन गर्छौं,’ नेपालको संविधान संशोधनका विषयमा आधिकारिक प्रवक्ताको भनाई शीर्षकमा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘यही प्रयासको अंगका रूपमा नेपालको संसदमा संविधान संशोधन विधेयक मंसिर १४ गते दर्ता गरिनु महत्वपूर्ण कदम हो ।’
दूतावासले नेपालको शान्ति, स्थायित्व र प्रगति नेपाल र भारत दुवैको हितमा छ भन्ने भारतको पुरानै अडान भएको जनाएको छ । दूतावासले सबै पक्षहरू नजिकै रहेर काम गर्नेछन् र अहिलेका प्रयासहरू सफलतापूर्वक टुंगिनेछन् भन्नेमा भारत आशावादी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘नेपालको नजिकैको र मित्रवत् सम्बन्ध रहेको छिमेकी मुलुकका रूपमा भारतले नेपालको शान्ति, स्थायित्व र तीव्र आर्थिक विकासका लागि चाहिने सबैखाले सहयोग दिइरहनेछ ।
नेपाली जनता र नेपाल सरकारको प्राथमिकतालाई भारतले महत्व दिइरहनेछ,’ विज्ञप्तिमा भनिएको छ । संविधान संशोधनमा समर्थन जनाउन भारतीय राजदूत रञ्जित रायले नेपालका मधेशकेन्द्रित दललाई दबाब दिएको भन्ने समाचार प्रकाशमा आइरहेको समयमा भारतीय दूतावासको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो ।