२९ असार २०८३, सोमबार

भारतबाट माला आयात नगर्ने फूल व्यवसायीको तयारी

कात्तिक २०, २०७७
भारतबाट माला आयात नगर्ने फूल व्यवसायीको तयारी

यसपालिको तिहारमा सयपत्री फूलको माग २५ देखि ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

गत वर्षको तिहारमा २९ लाख थान सयपत्री फूलका माला खपत भएकामा यो वर्ष १५–१७ लाख मात्र खपत हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) को अनुमान छ । तिहारमा हरेक वर्ष १० देखि १५ प्रतिशत सयपत्री फूलको माग बढ्ने गरे पनि यसपालि त्यस्तो बिक्री हुने अवस्था नरहेको फ्यानका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए ।

कोभिड–१९ प्रभावका कारण सयपत्री, मखमली र गोदावरी फूलहरूको माग घटेको उनले सुनाए । यो वर्षको तिहारमा भारतबाट फूल आयात नगर्ने र आन्तरिक उत्पादनले बजार माग धान्ने अवस्था रहेको उनको भनाइ छ । यो वर्षको तिहारमा साढे १२ लाख थान सयपत्री फूलको माला, दुई लाख मखमली र १५–२० हजार गोदावरी फूलका माला खपत हुने उनले बताए ।

गत वर्षको तिहारमा १५ करोड रुपैयाँको तयारी फूलको कारोबार थियो । यो वर्ष १३ करोड ६७ लाख ५० हजार रुपैयाँको कारोबार हुने फ्यानको भनाइ छ । यो वर्षको तिहारमा १२ करोड रुपैयाँको सयपत्री, १ करोड रुपैयाँको मखमली र ६७ लाख ५० हजार रुपैयाँको गोदावरीको कारोबार हुने फ्यानको अनुमान छ ।

‘गत वर्ष भारतबाट सात लाख थान माला आयात भएको थियो,’ पोखरेलले भने, ‘यो वर्ष आन्तरिक उत्पादनले धान्छ भन्ने अनुमान छ । अहिलेको समयलाई हेरेर १५ देखि १७ लाख थान माला खपत हुने अनुमान छ ।’ आयातित फूल सरकारको क्वारेन्टाइन भन्सारले रोकेको उनले बताए । काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, चितवन, पाल्पा, काभ्रेपलाञ्चोक, बारा, कैलाली, दाङलगायत ३२ जिल्लामा उत्पादित सयपत्री, मखमली र गोदावरी फूल बजारमा आउने उनले जानकारी दिए ।

सयपत्री फूलको तयारी माला बजारमा ७०–८० रुपैयाँमा बिक्री हुन्छ । त्यस्तै मखमली प्रतिमाला ५० रुपैयाँ र गोदावरी ३ सय ५० रुपैयाँभन्दा बढी पर्ने व्यवसायी बताउँछन् । ग्राहक आफैंले बनाउन दिएको मिश्रित फूलको माला भने १ हजार रुपैयाँ हाराहारीमा पर्ने फ्यानले जानकारी दिएको छ । ‘सरकारले फूल आयात नगर्ने भने पनि खुला सिमाना भएकाले चोरीको फूल आउन सक्छ । यसले स्वदेशी फूललाई असर पार्छ,’ पोखरेलले भने । आयातित फूल स्वदेशीको तुलनामा सस्तो हुने भएकाले किसानको लगानी डुब्न सक्ने उनको भनाइ छ ।

‘भारतीय मालाको थोक मूल्य २०–३० रुपैयाँ पर्छ । स्वदेशी फूलको लागत नै त्यति हुन्छ,’ उनले भने, ‘भारतीय मालाहरूको उत्पादन लागत नै सस्तो छ । जसले गर्दा हामी प्रतिस्पर्धा गर्न सक्दैनौं ।’ स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारले आयातित फूलमा कडाइ गर्नुपर्ने उनले सुनाए । स्वदेशमै फूल उत्पादन लागत घटाउन सरकारले सहज रूपमा मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने र स्वदेशी उत्पादनलाई छुट तथा अनुदान दिनुपर्ने पोखरेलले सुझाए । नेपालमा सात सयभन्दा बढी व्यावसायिक फूल खेती गर्ने किसान छन् । जसमध्ये ८० भन्दा बढी सयपत्रीको फूल खेती गर्ने किसान रहेको फ्यानको तथ्यांक छ । कान्तिपुर दैनिकमा नुमा थाम्सुहाङले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्