काठमाडौं, १० पुस-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि हरेक महिनाजसो चिनियाँ टोलीले नेपाल भ्रमण गरिरहेको छ । गत १९ साउनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापित गरी दाहालले सत्तारोहण गरेसँगै नेपालप्रति चिनियाँ चासो थप बढ्दै गएको आजको राजधानी दैनिकले खबर छापेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकोे चीन भ्रमणका बेला भएका द्विपक्षीय सम्झौता कार्यान्वयन नै चिनियाँ पक्षको प्रमुख चासोको रूपमा रहँदै आएको छ । दाहाल प्रधानमन्त्री हुनासाथ चीनले यस विषयमा चासो व्यक्त गर्दै दाहाल नेतृत्वको सरकारसँग पनि पहिलेकै जस्तो सम्बन्ध रहने प्रतिक्रिया दिएको थियो ।
प्रधानमन्त्री दाहाल निर्वाचित भएकै दिन लाजिम्पाट पुगेर तत्कालीन चिनियाँ राजदूत वु चुन्ताईले सबैभन्दा पहिले बधाईसहित पुष्पगुच्छा दिएका थिए । पछिल्लो साता मात्र चारवटा चिनियाँ टोलीले नेपालको भ्रमण ग-यो । यसले पनि नेपालप्रति चीनको बढ्दो चासोलाई देखाउँछ ।