काठमाडौँ- चीनले ऐतिहासिक रेसममार्गलाई पुनरुत्थान र विकास गर्ने आफ्नो महत्वाकांक्षी योजनालाई ‘वान बेल्ट वान रोड’का रूपमा अघि बढाइरहेको छ । चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा युरोप र एसियाका मुलुकसँग चीनको सम्पर्क र साझेदारी विस्तारका लागि ओबिओआरको अवधारणा अघि सारेका थिए ।

सीले भूपरिवेष्टित मुलुकहरूसँग सडक रेलमार्फत कनेक्टिभिटी बढाउन ‘सिल्क रोड इकोनोमिक बेल्ट’ तथा समुद्र भएका मुलुकहरूसँग ‘म्यारिटाइम सिल्क रोड’ को प्रस्ताव गरेका थिए । यस अवधारणाअन्तर्गत ओबिओआरमा एसिया, युरोप र अफ्रिकाका ६९ मुलुक जोडिनेछन् । यसले विश्वमा चीनको प्रभाव बढाउने अपेक्षा गरिएको छ । यो परियोजनामा पहिलो चरणमा ८ खर्ब ९० अर्ब अमेरिकी डलर खर्च हुने अपेक्षा चीनको छ । यस अवधारणामा खर्च गर्न चीनले ४० अर्ब डलरको सिल्क रोड फन्ड स्थापना गरेको छ । त्यस्तै, १ सय अर्ब डलरको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले समेत मुख्य रूपमा ओबिओआर परियोजनामा लगानी गर्नेछ । तर, भारतले ओबिओआरको अवधारणालाई विरोध गरिरहेको छ । नयाँ पत्रिकामा खबर छ |