
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक छिटोभन्दा छिटो बस्न आग्रह गरेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका बहुमत सचिवालय सदस्यले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवारसम्मको समय दिएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकले बिहीवारसम्म सचिवालय बैठक बस्न अध्यक्ष ओली तयार रहनुपर्ने निष्कर्ष निकालेको हो ।
'पार्टीलाई एकताबद्ध बनाउने हाम्रो गम्भीरतालाई कमजोरी नठानियोस्,' प्रवक्ता श्रेष्ठले बुधवार सञ्चारकर्मीसँग भनेका थिए ।
अनौपचारिक बैठकअघि प्रचण्ड प्रधानमन्त्री ओलीको सरकारीनिवास बालुवाटार पुगेका थिए । दुवै अध्यक्षबीच आधा घण्टाभन्दा बढी समय छलफल भएता पनि सचिवालय बैठक बस्ने विषयमा कुनै सहमति जुट्न सकेन ।
बरू ओलीले प्रचण्डलाई बैठक बसेर कुनै 'एक्सन' नलिन चेतावनी दिए । प्रचण्डको ब्रिफिङलाई उदृत गर्दै धुम्बाराही भेलामा सहभागी एक सचिवालय सदस्यले लोकान्तरसँग भने, 'तपाईंहरूले बैठक बसेर कुनै एक्सन लिनुभयो भने मैले महाएक्सन लिन्छु ।'
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ अनौपचारिक बैठकमा सहभागी थिए । उनीहरूको यो तेस्रो अनौपचारिक भेला थियो ।
गत शुक्रवार पनि बहुमत सदस्यहरूले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक भेला गरेर प्रधानमन्त्री ओलीमाथि सचिवालय बैठक बोलाउन दबाब दिएका थिए । शनिवार पाँचै नेता बालुवाटार पुगेर ओलीलाई बैठक बोलाउन ४८ घण्टे अल्टिमेटम दिएका थिए । तर ओली बैठक बोलाउन तयार भएका छैनन् ।
बुधवार बिहानै प्रधानमन्त्री ओली केही विकासे आयोजनाको निरीक्षण गर्न भन्दै पूर्वी पहाडी जिल्ला संखुवासभा लागेका छन् । उनी करीब ६ घण्टा संखुवासभामा बिताएर काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
प्रचण्ड-नेपाल पक्षले बैठक छल्न प्रधानमन्त्री ओली संखुवासभातिर लागेको आरोप लगाएका छन् ।
'बैठक छल्न उहाँ त्यता लाग्नुभएको हो,' एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, 'नत्र अकस्मात किन जानुपर्थ्यो ? न कुनै विशेष कार्यक्रम छ, न त जानै पर्ने आवश्यकता थियो ।'
ओलीलाई सचिवालयमा आफ्नो राजीनामा मागिने भय !
प्रधानमन्त्री ओली सचिवालय बैठकले गर्ने निर्णयका बारेमा आश्वस्त हुन खोजिरहेका छन् । उनले अध्यक्ष प्रचण्डसँगको भेटमा यही दोहोर्याउने गरेका हुन् ।
'प्रधानमन्त्री ओलीले पहिल्यै सहमति गर्ने र त्यसलाई सचिवालयबाट अनुमोदन गराउन चाहिरहेका छन्,' प्रचण्डनिवास खुमलटार स्रोतको दाबी छ, 'सचिवालय बैठकमा आफ्नो राजीनामा मागिन्छ कि भन्ने ठूलो भय प्रधानमन्त्रीमा देखिन्छ । त्यसैले अध्यक्ष प्रचण्डसँग उनले बैठकले गर्ने निर्णयका बारेमा आश्वस्तता माग गरिरहेका छन् ।'
तत्काल बैठक बोलाउनु पर्ने माग गर्दै बालुवाटार पुगेका अध्यक्ष प्रचण्डसहित ५ सचिवालय सदस्यहरूले कोरोना र यसबाट उत्पन्न संकटको व्यवस्थापन, स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, कर्णाली प्रदेशमा देखिएको विवाद, पर्सामा नेकपा कार्यकर्ताको हत्याकाण्डको विषय र भारतीय गुप्तचर प्रमुख 'रअ'का प्रमुख सामन्त गोयलले प्रधानमन्त्रीसँग भेटेको विषयलाई एजेण्डा बनाएर छलफल गर्नुपर्ने मागसहितको पत्र बुझाएका थिए ।
प्रवक्ता श्रेष्ठले भने, 'हामीले सरकारप्रमुखका हैसियतले उहाँसँग जनसरोकारका विषयमा छलफल गर्न माग गर्दै पत्र बुझाएका हौँ । अहिले हामीले राजीनामा माग गरेका पनि छैनौं ।
जनसरोकारका विषयमा छलफल गर्न बैठक माग गर्दा उहाँ असहमत हुनुपर्ने कुनै कारण छैन ।'
के बिहीवार बैठक बस्ला त ?
नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीले बैठक बस्न सहमति दिइसकेको दाबी गरे ।
'अस्ति पत्र पाउनेबित्तिकै प्रधानमन्त्रीले महासचिवलाई बोलाएर विधानअनुसार बैठक राख्ने तयारी गर्नुस् भनेर भनिसक्नुभएको छ,' नेम्वाङले भने, 'त्यसैअनुरुप प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डसँग पनि छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले बैठक नै बोलाउन नचाहेको जसरी बाहिर प्रचार भइरहेको छ त्यो गलत हो ।'
तर ओली अझै पनि बैठकबाट भाग्न खोजिरहेको प्रचण्ड-नेपाल निकट एक नेताले दाबी गरेका छन् ।
उनले भने, '२७ गते बैठक बस्ने सम्भावना देखिन्न । प्रधानमन्त्री ओली सचिवालयले आफूविरुद्ध कुनै निर्णय लिनसक्ने भयमा हुनुहुन्छ । त्यसैले उहाँले बैठक बोलाउनुहोला या कार्यकारी अध्यक्षले बोलाएको बैठकमा सहभागी हुनुहोला भन्ने सम्भावना छैन ।'