
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफ्ना पक्षमा बहस गर्ने वकिल र शुभेच्छा प्रकट गर्न सबैलाई हार्दिक आभार प्रकट गएका छन् ।
एक प्रेस नोट लेख्दै गौतमले भनेका छन्, 'राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथलगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ । यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।'
उनले यो विषय कुनै पद र प्रतिष्ठासँग नगासिएको बताए ।
'वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन,' गौतमले भनेका छन्, 'हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए ।'
उनले फेरि पनि आफू संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गरेका छन् ।