
काठमाडौं उपत्यकाभित्र बढ्दै गएको कोभिड–१९ को जोखिम घटाउन चालिने रणनीतिका लागि उपत्यका नगरपालिका फोरमका सिफारिस कार्यान्वयन गरिदिन फोरमका पदाधिकारीले संकट व्यवस्थापन केन्द्रको बैठकमा अनुरोध गरेका छन् ।
संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र उपत्यका नगरपालिका फोरमबीच बुधवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको करीब ५ घण्टा लामो छलफलमा फोरमका पदाधिकारीले विगत अभ्यासको विश्लेषण गर्दै सिफारिस कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।
छलफलमा सीसीएमसी निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, काठमाडौं उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, सचिव एवं मध्यपुर थिमी नगरका मेयर मदन सुन्दर श्रेष्ठसहित पदाधिकारी र सदस्य सहभागी थिए । छलफल, उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम, नियन्त्रणको प्रयास र संक्रमणको चक्र तोड्ने प्रयासका विषयमा केन्द्रित थियो ।
बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरलाई समन्वय गरेर अघि बढ्न आग्रह गर्दै साझा मत राखेका थिए ।
संघ, प्रदेश र स्थानीय सरकार तथा अन्तर स्थानीय सरकारबीच प्रभावकारी समन्वय समन्वय छलफलको मुख्य विषय रहेको फोरमका सचिव एवं मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए । ‘तिहार, छठ लगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने कुरा भएको छ । चक्र तोड्न के गर्ने ? कार्यक्रमको ढाँचाका विषयमा अहिले निर्णय त भएको छैन तर कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन गर्ने र परीक्षणको दायरा बढाउने नै सम्भावनाका विषयमा छलफल भएको हो,’ उनले भने ।
मुलुकभरको संक्रमण तथ्यांकमध्ये करीब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नुपर्ने भएकाले त्यसको तयारीका लागि बैठक आयोजना गरिएको थियो । आपूर्ति व्यवस्था सहज बनाउनुपर्ने, कोरोनाको दोस्रो तरङ्ग आउन नदिन प्रभावकारी प्रयास गर्नुपर्ने, समुदायलाई परिचालन गर्नुपर्ने, उपत्यकामा कोरोनाको प्रभाव कम गर्न उपत्यका छिर्ने विभिन्न नाकामा ‘हेल्थ डेस्क’ राख्नुपर्ने जस्ता विषय पनि बैठक उठाइएका थिए । स्थानीय तहबाट प्रभावकारी रूपमा जनचेतनामुलक कार्य गर्ने, स्थानीय तह परिचालित भएर घरदैलो कार्यक्रम गर्ने लगायतका विषयमा पनि छलफलमा उठेका थिए ।
बैठकका सहभागीले कोरोना संक्रमितको मृत्युुदर घटाउने, सामान्य लक्षण देखिएका संक्रमितलाई सकेसम्म होम आइसोलेसन र गम्भीर बिरामीलाई मात्रै अस्पताल लैजाने लगायतका विषयमा पनि सबै स्थानीय तहबाट समन्वय हुनुपर्ने सुझाव दिएका थिए ।