२८ जेठ २०८३, बिहीबार

सचिवालयको औपचारिक बैठक बोलाइएपछि प्रचण्ड पक्ष ‘कूल’

कात्तिक २७, २०७७
सचिवालयको औपचारिक बैठक बोलाइएपछि प्रचण्ड पक्ष ‘कूल’

महासचिव विष्णु पौडेलले शुक्रवारका लागि नेकपा सचिवालयको औपचारिक बैठक राखेपछि सचिवालय बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष शान्त बनेको छ ।

दुवै अध्यक्षसँगको परामर्शमा महासचिव पौडेलले शुक्रवार अपराह्नका लागि बैठक आह्वान गरेका छन् ।
 
महासचिवले पार्टीको औपचारिक बैठक बोलाइसकेपछि आफूहरूले बैठकको तयारी शुरू गरेको असन्तुष्ट पक्षका एक नेताले लोकान्तरलाई बताए । 

‘अध्यक्षसँगको परामर्शमै बैठक राखिएको हो,’ प्रचण्ड निकट स्रोतले लोकान्तरसँग भन्यो ।

अध्यक्षद्वय प्रचण्ड, वरिष्ठ नेताद्व माधव नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार लिखित निवेदन दिएका थिए । 

महासचिव पौडेलले पनि पार्टीको विधान अनुसार बैठक बोलाएको लोकान्तरलाई बताए । प्रचण्डसहित सचिवालयका ५ जना नेताहरूबीच शुक्रवार अनौपचारिक बैठक गरी अविलम्ब बैठक बोलाउन आग्रह गरेका थिए । 

४८ घण्टे अल्टिमेटमसहित शनिवार बैठक बोलाउन आग्रह गरेका नेताहरूले निर्धारित समय सकिएपछि मंगलवार फेरि छलफल गरेका थिए । मंगलवार प्रचण्डसँगको भेटमा पनि ओलीले तत्काल बैठक नबोलाउने अडान लिएका थिए । त्यसपछि सचिवालयका ५ जना नेताले बिहीवार सचिवालय बैठक बोलाउन दबाब दिएका थिए । 

सचिवालय बैठक बोलाउन पटक–पटक दबाब आएपछि ओलीले उपयुक्त समयमा बैठक राख्न महासचिव पौडेललाई जिम्मा लगाएका थिए । गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन तथा मुलुकमा उठेका जल्दाबल्दा विषय समाधानका लागि भन्दै प्रचण्ड पक्षले बैठक बोलाउन माग गरेको छ । 

औपचारिक बैठक नराखिएमा कार्यकारी अधिकार प्रयोग गरेर आफूले बैठक राख्ने प्रचण्डले बताउँदै आएका थिए । मन्त्रिमण्डल विस्तार, राजदूतहरूको नियुक्ति लगायत विषयमा अध्यक्ष प्रचण्ड असन्तुष्ट छन् ।

salt training

कमेन्ट गर्नुहोस्