१४ असार २०८३, आइतबार

मेलम्चीमा दुर्घटनाको जोखिम देखिएपछि शुरुङ पुनः परीक्षण गरिने, निर्माण लम्बिँदै

कात्तिक २७, २०७७
मेलम्चीमा दुर्घटनाको जोखिम देखिएपछि शुरुङ पुनः परीक्षण गरिने, निर्माण लम्बिँदै
फाइल फोटो

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिना भित्रमा गरिने भएको छ ।

गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ । 

सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार त्रुटि सच्याउने काम मंसिरको दोस्रो सातासम्म सकिने भारतीय कम्पनीले बताएको छ ।

केही महिनायता सुरुङमा पुनरावलोकनको काम भइरहेको उनले बताए । उनले भने, ‘सम्भावित सबै ठाउँमा पुनरावलोकन भइरहेको छ ।’

मंसिरसम्ममा त्रुटि सच्याए पनि काठमाडौंमै पानी झार्न भने माघ मसान्तसम्म लाग्ने देखिएको छ । सुरुङमा पानी पठाउन थालिएको २ महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता शाक्यले जानकारी दिए । मन्त्रालयले बनाएको कार्यविधि अनुसार थोरै परिमाणमा गरेर पानी पठाइने छ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उनले जानकारी दिए ।

उनले भने, ‘पानीभित्र भरिएर केही दिन राख्दा बल्ल कतै समस्या छ छैन थाहा हुन्छ, समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिने छ ।’

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरू हुने उनले जानकारी दिए । सुन्दरीजलमा २ पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्यांकीमार्फत पाइपमा पानी पुग्छ ।

उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उनले जानकारी दिए । अहिले वाग्मतीको पानीमार्फत परीक्षण भइसकेको छ । उनले भने, ‘पानी झरेपछि पुरानो संरचनाबाट पानी पठाउने र नयाँ विच्छाइएका पाइपको परीक्षण एउटै समयमा हुनेछ ।’

यसअघि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो । सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकोमा १ हप्तामा पानी बाहिर निस्केको हो । दुर्घटनाका बारेमा बुझ्नका लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ । 

सो दुर्घटनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इञ्जिनीयर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् । 

दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी र गेट निर्माण गर्ने कम्पनी दुवैको भएकाले उनीहरूले जिम्मेवारी लिएका थिए । इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पीआईएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सीएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सीएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो । 

आयोजनाको बाँकी काम सम्पन्न गर्नै गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ । ‘हेडबक्स’ सकिन अझै छ महिना लाग्ने हुँदा अस्थायी बाँधबाट पानी पथान्तरण गरिनेछ । मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरू निर्माणका काम रोकिएको थिएन । बन्दाबन्दीको अवधिमा पनि निर्माणस्थलमा काम भइरहेको थियो । 

आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा २ वटा ट्यांकी निर्माण भइसकेको छ । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियन विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा निर्माण भएकोे थियो । 

बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुन सकेको थिएन । निर्माण कम्पनीले उपलब्ध जनशक्ति र सामग्रीबाट निर्माण गरिरहेको थियो । स्थानीयवासी र स्थानीय तहले आयोजनाका कारण कोभिड–१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सञ्चालन थियो । लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आयोजनामा यो आयोजना पर्छ ।

काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं ल्याउन संस्थागत पहल शुरू भएको २ दशक भयो ।

विक्रम संवत् २०५६ सालमा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एसियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरुपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ । – सञ्चिता घिमिरे/रासस

salt training

कमेन्ट गर्नुहोस्