इटहरी, १० पुस - राष्ट्रकै सबैभन्दा बृहत् र महत्त्वपूर्ण खेलकुद प्रतियोगितामा सहभागिता जनाउन आएकी एक किशोरीले आर्थिक अभावका कारण जुत्तासम्म किन्न नसक्ने अवस्थामा खाली खुट्टा नै आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धाका लागि मैदानमा ओर्लनुपर्यो । नवलपरासीकी १६ वर्षीया गुडिया गुप्ता शनिबार निर्माणाधीन इटहरी रंगशालामा एथलेटिक्सको पन्ध्र सय मिटर दौडमा आफूभन्दा दिग्गज प्रतिद्वन्द्वीलाई टक्कर दिन पश्चिमाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्दै खाली खुट्टा ट्र्याकमा ओर्लिइन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतियोगिताको हिट चरणमा उनी छैटौं भइन् तर उनको खाली खुट्टामा न कुनै खेल पदाधिकारीको आँखा गयो न त खेलसँग सम्बन्धित कुनै नीति निर्माताको नै । उनी पश्चिमाञ्चल क्षेत्रको छनोट प्रतियोगितामा पहिलो हुँदै राष्ट्रिय प्रतियोगिता खेल्न पूर्वाञ्चल आएकी हुन् । छनोट प्रतियोगितामा उनले निर्धारित दुरी पाँच मिनेट १२ सेकेन्डमा पूरा गरेकी थिइन् ।
एथलेटिक्स प्रतियोगिता खेल्न खेलाडीका लागि विशेष प्रकारको 'स्पाइक सु' लगाउनुपर्ने हुन्छ । 'स्पाइक सु' ले खेलाडीको प्रदर्शन स्तरीय बनाउन मद्दत पुर्याउँछ । तर गुडियासँग 'स्पाइक सु' किन्ने पैसासमेत नभएकाले उनी राष्ट्रिय प्रतियोगितामा खाली खुट्टा दौडिएको उनका प्रशिक्षक मनोहर दाहालले बताए ।
नवलपरासीको बुढी पर्सौनीकी गुडियालाई राष्ट्रिय प्रतियोगितासम्म ल्याउने पनि प्रशिक्षक मनोहर नै हुन् । उनले तीन वर्षअघि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा स्थानीय जनजागृति माविमा अध्ययन गरिरहेकी गुडियाको खेल हेरेका थिए । त्यो प्रतियोगितामा गुडियाको प्रदर्शन देखेर प्रशिक्षक मनोहर आकर्षित भएका थिए । तर त्यसको एक वर्षपछि आर्थिक समस्याका कारण गुडियाले राष्ट्रपति रनिङ सिल्ड नखेल्ने भएपछि आफ्नै पहलमा उनलाई प्रतियोगितामा सहभागी गराएको मनोहरले बताए ।